१४ जेठ,वीरगञ्ज । बाराको पचरोता नगरपालिका वडा नम्बर १ पिपरपाटी निवासी रामानन्द महतोको परिवारमाथि गएराति मंगलबार (जेठ १३ गते) भयानक बज्रपात भएको छ।
रक्सौलबाट ५ महिनाको छोराको उपचार गराएर फर्कंदै गर्दा छौडादानोको बखरी नजिकै भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीनको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धर्मराज साहकी श्रीमती, आमा र ५ महिनाका नाबालक छोराको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका धर्मराज साहको हाल भारतको मोतिहारीस्थित एक अस्पतालमा उपचार भइरहेको छ। उनी अहिले अस्पतालको शैय्यामा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्।
अत्यन्तै गरिब परिवारका धर्मराज साहलाई आफ्नो उपचार र परिवारका अन्य खर्चका लागि आर्थिक अभाव भएको छ। यो विषम परिस्थितिमा पचरोटा नगरपालिकाका नगर प्रमुख जालनधर सिंहले मानवीयता प्रदर्शन गर्दै १ लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेका छन्। मेयर सिंहको यस अमूल्य सहयोगप्रति परिवार र स्थानीयवासीले आभार व्यक्त गरेका छन्।
सहृदयी दाताहरूलाई सहयोगको अपिलः
धर्मराज साहको उपचार खर्च र परिवारमाथि आइपरेको यो महाविपत्तिमा सहयोगका लागि सहृदयी दाताहरूलाई हार्दिक अपिल गरिएको छ। एकैपटक तीन सदस्य गुमाएर गम्भीर अवस्थामा रहेका धर्मराजलाई थप उपचारका लागि तत्काल आर्थिक सहयोगको आवश्यकता परेको छ।
यस दुःखद घडीमा धर्मराज साहको जीवन बचाउन र शोकमा डुबेको परिवारलाई राहत प्रदान गर्न सबैबाट सक्दो सहयोगको अपेक्षा गरिएको छ। मानवीयताको नाताले यस परिवारलाई सहयोग गर्न चाहने जो कोहीले पनि पचरोटा नगरपालिकाको समन्वयमा वा सिधै परिवारसँग सम्पर्क गर्न सक्नेछन्।