१४ जेठ,रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएको छ। मंगलबार बृन्दावन नगरपालिका–१ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए।
बृन्दावन सव–डिभिजन वन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको कमाण्डमा डिभिजन वन कार्यालय, बृन्दावन सव–डिभिजन वन कार्यालय बलरी र चेतनगर पोष्टका वन कर्मचारीहरूको संयुक्त वन गस्ती टोलीले उक्त कार्य गरेको हो। टोलीले भोटे टोलको पाँच विभिन्न स्थानमा वन अतिक्रमण गरी करिब एक बिघा क्षेत्रफलमा लगाइएको अदुवा, बेसार, केरा र तरकारी खेती नष्ट गरेको छ। त्यसैगरी, सोही स्थानमा बनाइएका टहरासमेत भत्काइएको प्रमुख साहले बताए।
वन अतिक्रमण गर्ने र गराउने व्यक्तिहरू उपर वन ऐन नियमबमोजिम कारबाहीका लागि अनुसन्धान जारी रहेको पनि प्रमुख साहले जानकारी दिए। यसअघि पनि वन कार्यालयले वनको खाली जमिनमा वृक्षारोपण गर्दै आएको छ भने वन जोगाउन नियमित गस्तीसमेत गरिरहेको प्रमुख साहले बताए ।

