१३ जेठ,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–१, चौतारा नजिकैको जङ्गलमा एक बेवारिसे पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय ठोरीका अनुसार, अन्दाजी ४० देखि ४५ वर्षीय भारतीय नागरिकको जस्तो देखिने शव मृत अवस्थामा फेला परेको हो।
आज बिहान स्थानीय बासिन्दाले चौतारा नजिकैको जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलत्तिक्कै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि वीरगञ्ज पठाएको छ।
स्थानीय बासिन्दाका अनुसार, मृत पुरुष करिब दुई महिनादेखि चौतारा नजिकै बस्दै आइरहेका थिए। उनीसँगै अर्का एक पुरुष पनि बस्ने गरेको र दुवैको मानसिक अवस्था ठीक नभएको स्थानीयले बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

