सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाविरुद्ध हुने कसुरमा कैद र जरिबाना दुवै अनिवार्य हुने गरी कानुनी व्यवस्था कडा बनाउने प्रस्ताव गरेको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन गर्न तयार पारिएको विधेयकमार्फत सरकारले यसअघि रहेको ‘कैद वा जरिबाना’को विकल्प हटाएर कसुरको प्रकृतिअनुसार कैद र जरिबाना दुवै हुने व्यवस्था प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयक प्रतिनिधिसभामा दर्ता गर्नुभएको छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्दै नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले विधेयक अघि बढाइएको सरकारले जनाएको छ। स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नुका साथै स्वास्थ्य संस्थाविरुद्ध हुने आपराधिक गतिविधिलाई थप दण्डनीय बनाउने सरकारको प्रस्ताव छ।
हतियारसहित आपराधिक बल प्रदर्शन गर्न नपाइने
प्रस्तावित विधेयकमा स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीविरुद्ध हतियारसहित आपराधिक बल प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।
त्यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीविरुद्ध कानुनले निषेध गरेका कार्य गर्न उक्साउने, भड्काउने वा त्यस्ता गतिविधिमा संलग्न गराउने कार्यलाई समेत निषेध गर्ने प्रस्ताव गरिएको छ।
आगजनीमा पाँच वर्षसम्म कैद
विधेयकमा स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था प्रस्ताव गरिएको छ।
हाल प्रचलित कानुनमा यस्ता कसुरमा कैद वा जरिबाना वा कसुरको मात्रा हेरी दुवै सजाय हुन सक्ने व्यवस्था रहेकोमा संशोधन विधेयकले कैद र जरिबाना दुवै अनिवार्य गर्ने प्रस्ताव गरेको हो।
त्यसैगरी, स्वास्थ्य संस्थामा तोडफोड गर्ने वा अन्य कुनै कार्यबाट हानि–नोक्सानी पुर्याउने तथा स्वास्थ्यकर्मी वा कर्मचारीमाथि कुटपिट गरी शारीरिक चोट पुर्याउने कसुरमा पनि कैद र जरिबाना दुवै हुने व्यवस्था प्रस्ताव गरिएको छ।
यस्ता कसुरमा तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिबाना हुने प्रस्ताव विधेयकमा गरिएको छ।
उपचारमा बाधा पुर्याएमा पनि कैद र जरिबाना
स्वास्थ्य संस्थामा तालाबन्दी गर्ने, घेराउ गर्ने, बिरामीको उपचारमा बाधा पुर्याउने, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि गालीगलौज वा अभद्र व्यवहार गर्ने तथा त्यस्ता कार्यका लागि अरूलाई भड्काउने वा उक्साउने कसुरमा पनि सजायको व्यवस्था परिवर्तन गर्न प्रस्ताव गरिएको छ।
प्रस्तावित विधेयकअनुसार यस्ता कसुरमा एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ।
हालको कानुनी व्यवस्थामा भने यस्ता कसुरमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।
इन्टर्नसिप गर्ने पनि स्वास्थ्यकर्मीको परिभाषामा
संशोधन विधेयकले स्वास्थ्यकर्मीको परिभाषालाई समेत विस्तार गर्ने प्रस्ताव गरेको छ। जसअनुसार इन्टर्नसिपमा रहेका व्यक्तिलाई पनि स्वास्थ्यकर्मीको परिभाषामा समेटिनेछ।
त्यस्तै, सुरक्षाको परिभाषामा आर्थिक सुरक्षासँगै भौतिक सुरक्षालाई समेत समेट्ने प्रस्ताव गरिएको छ।
सरकारले स्वास्थ्य सेवा प्रवाहका क्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने हिंसा, अवरोध तथा आपराधिक गतिविधि नियन्त्रण गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले ऐन संशोधन गर्न लागेको जनाएको छ।

