पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोका कारण सडकमा यातायात एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा समेत पहिरो खसेको छ। प्रहरीका अनुसार उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ, जसका कारण थप पहिरोको जोखिम रहेको छ ।
यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण कृष्णभिर क्षेत्रमा सडक कटान हुँदा पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो ।
कृष्णभिर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि राजमार्गमा यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

