प्राणघातक रोग जापानीज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण मधेश प्रदेशमा फैलँदै गएको छ। सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग सर्लाहीबाहेक मधेश प्रदेशका सातवटै जिल्लामा देखिएको हो। सङ्क्रमणसँगै मृत्युदरसमेत उच्च रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेका अनुसार भदौ ५ गतेसम्म मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा गरी १९ जनामा प्रयोगशाला परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ। सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। यो सङ्ख्या कुल सङ्क्रमितको करिब ३२ प्रतिशत हो।
“यो मृत्युदर उच्च हो,” निर्देशक न्यौपानेले भन्नुभयो।
प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर लक्ष्मेश्वर झाका अनुसार जापानीज इन्सेफ्लाइटिसबाट सप्तरी जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जिल्लाका राजगढ, तिलाठी कोइलाडी, डाक्नेश्वरी र महदेवा क्षेत्रमा सङ्क्रमण देखिएको छ। भदौ ५ गतेसम्म सप्तरीमा ६ जनामा सङ्क्रमण पुष्टि भएकामा दुई जनाको मृत्यु भएको छ।
त्यस्तै, पर्सामा चार सङ्क्रमितमध्ये दुई जना, धनुषामा तीनमध्ये एक जना तथा रौतहटमा एक जनाको मृत्यु भएको खोप सुपरभाइजर झाले जानकारी दिनुभयो।
महोत्तरीको बर्दिबास, औरही र सम्सी क्षेत्रमा गरी तीन जना तथा सिरहाको धनगढीमाई नगरपालिका र बारामा एक–एक जनामा जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ। सङ्क्रमितमध्ये केहीको उपचार भइरहेको छ।
उपचारपछि पनि दीर्घकालीन समस्या
जापानीज इन्सेफ्लाइटिसको उपचारपछि घर फर्किएका केही बिरामीमा समेत दीर्घकालीन स्वास्थ्य समस्या देखिएको परिवारजनले बताएका छन्। उनीहरूका अनुसार बिरामीलाई बोल्न तथा खाना खान कठिन हुने, मानसिक अवस्था सुस्त हुने तथा विभिन्न शारीरिक र मानसिक अपाङ्गता देखिने गरेको छ।
रोगको रोकथामका लागि बालबालिकालाई नियमित खोप दिइँदै आए पनि पछिल्लो समय सङ्क्रमण बढिरहेको छ। खोप सुपरभाइजर झाले नियमित खोप अभियानअन्तर्गत करिब ९५ प्रतिशत बालबालिकाले जेई खोप पाएको जानकारी दिनुभयो।
“पछिल्लो समय खोप नलिएका वा खोप लगाउने उमेर ढल्किएका व्यक्तिमा सङ्क्रमण र मृत्युदर बढी देखिएको हो,” झाले स्पष्ट पार्नुभयो।
प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन
सङ्क्रमण फैलँदै गएपछि प्रदेश स्वास्थ्य निर्देशक सरोजराज न्यौपानेको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, खोप सुपरभाइजरलगायतको टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले स्थानीय बासिन्दा, वडाध्यक्ष, नागरिक समाज तथा अन्य सरोकारवालासँग छलफल गरी सङ्क्रमणको अवस्था र रोकथामका उपायबारे जानकारी लिइरहेको छ।
टोलीले नियमित खोप लगाउन, घरवरपर पानी जम्न नदिन, राति सुत्दा झुलको प्रयोग गर्न तथा शरीर पूरै ढाकिने गरी कपडा लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, हाँस तथा सुँगुर–बङ्गुरका खोर बस्तीभन्दा केही टाढा राख्नसमेत अपिल गरिएको छ।
उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, शरीरमा ऐठन वा झट्का लाग्ने तथा मानसिक अवस्थामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य टोलीले आग्रह गरेको छ।
विशेषगरी ५० वर्षभन्दा माथिका व्यक्तिमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु बढी देखिएको भन्दै परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा विशेष ध्यान दिनसमेत आग्रह गरिएको छ।
आठवटै जिल्लामा रोकथामका लागि निर्देशन
यसैबीच, मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई जापानीज इन्सेफ्लाइटिसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

