मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई विभिन्न सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको छ ।
मधेश प्रदेशको सुरक्षा व्यवस्थापनलाई आधुनिक, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री महतोले मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीलाई सिसिटिभी प्रणाली मर्मतसम्बन्धी सामग्री, मेटल डिटेक्टर, वाल थ्रो गेटलगायतका सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले मधेश प्रदेशमा शान्ति–सुरक्षा तथा सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन र प्रविधियुक्त उपकरण उपलब्ध गराइएको बताउनुभयो ।
उहाँले हस्तान्तरण गरिएका सामग्रीको उचित संरक्षण, नियमित मर्मतसम्भार तथा पारदर्शी उपयोगमा विशेष ध्यान दिन नेपाल प्रहरीलाई आग्रह गर्नुभयो। मन्त्री महतोले मधेश प्रदेश सरकार गठन भएदेखि नै शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।
मन्त्री महतोले सुरक्षा व्यवस्थापन केवल सुरक्षा निकायको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै प्रदेश सरकार, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र, स्थानीय तह तथा सञ्चार क्षेत्रबीचको प्रभावकारी समन्वयबाट मात्र नागरिकलाई सुरक्षित र विश्वसनीय वातावरण प्रदान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले नेपाल प्रहरीले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले प्रहरीलाई प्रविधिमैत्री बनाउने सवालमा मधेश प्रदेश सरकारले गर्दै आएको सहयोग सराहनीय रहेको बताउनुभयो ।

