१० जेठ,वीरगञ्ज । ’मर्यादित सहकारी समुन्नत समाज’ भन्ने मूल नाराका साथ आज वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था लि. (बिस्को) को सभा हलमा सहकारीहरूको समसामयिक विषय, समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको आयोजनामा भएको यस कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे विभिन्न सहकारी संस्थाका सञ्चालक अध्यक्ष तथा प्रबन्धकहरूसँग छलफल गरियो।
संघका अध्यक्ष हरेराम प्रसादले वर्तमान आर्थिक र बैंकिङ क्षेत्र तथा सहकारीमा देखिएका समस्या पहिचान गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिए। छलफलमा सहकारीका समसामयिक समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे गहन कुराकानी भएको उनले बताए।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कुन) का अध्यक्ष चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। अध्यक्ष ढकालले सहकारी संस्थाका समस्या समाधानका लागि सबै सहकारी एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए। उनले सहकारी संस्थालाई सुरक्षित राख्ने र बचतकर्ताहरूको बचत सुरक्षित राख्ने जिम्मेवारी आफूहरूको रहेको बताए।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका अध्यक्ष हरेराम प्रसादको अध्यक्षतामा सम्पन्न यस छलफल कार्यक्रममा जिल्ला बचत संघ पर्साका वरिष्ठ उपाध्यक्ष जिष्णु बरालले शुभकामना मन्तव्य राखेका थिए। विशिष्ट अतिथिको रूपमा जिल्ला बचत संघ पर्साका पूर्व अध्यक्ष राजेश पण्डित, बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्की लगायतले आ–आफ्नो सुझाव एवम् धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन जिल्ला बचत संघ पर्साका सचिव नरेश चौरसियाले गरेका थिए।

