सरकारले वैशाख २ गते (अप्रिल १५) लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेको छ ।
यस अवसरमा देशभर स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेसँगै नेपालमा पहिलो पटक यो दिवस मनाउन लागिएको हो ।
नेपालमा यस दिनलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा मनाइने बताइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्याम बाबु यादवका अनुसार वेलनेस दिवसको मुख्य उद्देश्य नागरिकमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउनु हो । यस अवसरमा सङ्घ, प्रदेश तथा स्थानीय तहका निकायहरूलाई कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकिएको छ।
उहाँका अनुसार योग, ध्यान, स्वस्थ खानपान, नियमित व्यायाम तथा दिनचर्या र रात्रीचर्यासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै, आयुर्वेद पद्धतिअन्तर्गत शिरोधारा लगायतका उपचार विधिबारे जानकारी दिने कार्यक्रम पनि गरिनेछ ।
देशभर गोष्ठी, प्रवचन तथा अन्तरक्रिया कार्यक्रममार्फत स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने योजना रहेको छ । यस अभियानले मानिसलाई निरोगी जीवनयापन, स्वास्थ्य शिक्षा तथा सही बानी व्यवहार अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ ।
डा. यादवले पछिल्लो समय नसर्ने रोगहरूको समस्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै बदलिँदो जीवनशैली, असन्तुलित खानपान तथा शारीरिक गतिविधिको कमी यसका मुख्य कारण भएको बताउनुभयो । उहाँका अनुसार जनचेतना र स्वास्थ्यप्रति सजगता नै यसको समाधानको प्रमुख उपाय हो ।
उहाँले नेपाली भान्छामा प्रयोग हुने अदुवा, बेसार, धनियाँ र ज्वानो जस्ता मसलाहरूको वैज्ञानिक महत्व उल्लेख गर्दै सामान्य रुघाखोकीजस्ता रोगहरूको उपचार घरमै सम्भव हुने बताउनुभयो ।
सरकारले हाल प्रत्येक वडा तथा टोलमा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद सेवा विस्तार गरिरहेको जनाएको छ । साथै, पञ्चकर्म, शिरोधारा जस्ता उपचार विधिको प्रवर्द्धन र योग तथा ध्यानका कक्षाहरू सञ्चालन भइरहेका छन् ।
नेपाल प्राकृतिक रूपमा जडीबुटीमा धनी देश भएकाले यसलाई ‘आरोग्य हब’का रूपमा विकास गर्न सकिने डा. यादवको भनाइ छ । यसले योग, ध्यान र प्राकृतिक उपचारका लागि विदेशी पर्यटक आकर्षित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
उहाँले ब्रह्ममुहूर्तमा उठ्ने, नियमित योग तथा व्यायाम गर्ने, सन्तुलित तथा मौसमी खाना खाने र प्राकृतिक औषधिको प्रयोग गर्न सुझाव दिनुभयो ।
यस दिवसले स्वास्थ्यलाई केवल रोग नलाग्ने अवस्थाका रूपमा मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा बुझ्नुपर्ने सन्देश विश्वभर फैलाउने लक्ष्य राखेको छ ।

