आजदेखि विक्रम संवत् २०८३ औपचारिक रूपमा सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई नेपाली समाजले नयाँ आशा, उमङ्ग र नयाँ सुरुआतको प्रतीकका रूपमा उल्लासपूर्वक मनाएको छ ।
देशभर आफन्त, साथीभाइ तथा शुभेच्छुकबीच शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गरिएको छ । विक्रम संवत् अनुसार वैशाख १ गतेलाई नयाँ वर्षको प्रारम्भका रूपमा लिने परम्परा रहिआएको छ ।
खगोलशास्त्रीय दृष्टिले पनि आजको दिन विशेष मानिन्छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने मेष सङ्क्रान्तिका रूपमा यो दिनलाई वर्ष परिवर्तनको आधार मानिन्छ ।
नयाँ वर्षसँगै धेरैले अघिल्लो वर्षका उपलब्धि तथा कमजोरीको समीक्षा गर्दै नयाँ लक्ष्य र योजनासहित अगाडि बढ्ने संकल्प गर्ने परम्परा रहेको छ ।
परम्पराअनुसार बिहान स्नान, घर–आँगन सरसफाइ, मठमन्दिरमा पूजा–आराधना तथा परिवारसँगै मिठा परिकार खाने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।
नयाँ वर्षको अवसरमा देश तथा विदेशमा रहेका नेपाली समुदायले विभिन्न कार्यक्रममार्फत उत्सव मनाइरहेका छन् । भक्तपुरको बिस्का जात्रा र तराईको सांस्कृतिक विश्वासले पनि यस दिनलाई विशेष बनाएको छ ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवसहित विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि कामना व्यक्त गरेका छन् ।

