सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा प्रशासनिक कार्यालय सार्ने निर्णयको विरोधमा स्थानीयले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
नगर सभाको बहुमतबाट वडा नम्बर १२ मा रहेको कार्यालयलाई वडा नम्बर ५ स्थित नवनिर्मित पशु अस्पतालको भवनमा सार्ने निर्णय भएपछि सोमबार बिहानैदेखि स्थानीय आन्दोलित बनेका हुन् । उनीहरूले नगरपालिकाको मूलगेटमा धर्ना दिँदै हनुमाननगर बजारसमेत बन्द गराएका छन् ।
विरोध प्रदर्शनमा केही वडाध्यक्षहरू समेत सहभागी भएका छन् । वडाध्यक्ष हरिशचन्द्र वर्माले नगर प्रमुखले कार्यकाल सकिन लाग्दा हतारमा एकतर्फी निर्णय गरेको आरोप लगाउँदै पशु अस्पतालको भवन प्रशासनिक प्रयोजनमा प्रयोग गर्नु अनुचित भएको बताए ।
त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष सन्तोषकुमार यादवले पशु सेवा प्रवाह प्रभावित हुने भन्दै पशु अस्पतालकै भवनबाट किसानले सेवा पाउनुपर्नेमा जोड दिए । वडा नम्बर १२ का वडाध्यक्ष श्रीचन्द्र मुखियाले नयाँ प्रशासनिक भवन नबनाई पशु अस्पतालमै कार्यालय सार्नु कानुनसम्मत नभएको तर्क गरे ।
यता नगरप्रमुख वीरेन्द्र माझीले भने नगर सभाको बहुमत निर्णयअनुसार अस्थायी रूपमा कार्यालय सार्ने निर्णय गरिएको स्पष्ट पारेका छन् । उनका अनुसार तीन वटा वडा कार्यालय र एक स्वास्थ्य चौकी भाडाको घरमा सञ्चालनमा रहेकाले ती सेवाहरू पुरानो भवनमा सारेर प्रशासनिक कामकाज पशु अस्पतालको भवनबाट सञ्चालन गर्ने निर्णय गरिएको हो ।
नगरप्रमुख माझीले कार्यालय सार्ने निर्णय केन्द्र सार्ने नभई अस्थायी व्यवस्थापन मात्र भएको भन्दै वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेका छन् । यद्यपि स्थानीयले गरेको तालाबन्दीका कारण नगरपालिका कार्यालयको दैनिक सेवा प्रभावित भएको छ ।

