प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई बिहीबार पदमुक्त गरेका छन्। उक्त निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा गरिएको हो।
रास्वपा सभापति रवि लामिछाने ले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। आरोपअनुसार, मन्त्री साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको बताइएको छ।
यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले घटनाबारे विस्तृत अध्ययन गरी मन्त्री साहमाथि कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पार्टीसमक्ष बुझाएको थियो। उक्त प्रतिवेदनका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई औपचारिक सिफारिस गरेका हुन्।
प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहाल का अनुसार सोही सिफारिसका आधारमा मन्त्री साहलाई पदमुक्त गर्ने निर्णय गरिएको हो।
रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादा जोगाउने जिम्मेवारी रहेको उल्लेख गरेको छ। साथै, धारा ६९ अनुसार पदको दुरुपयोग भएको अवस्थामा ‘राइट टु रिकल’ व्यवस्था प्रयोग गरी जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने प्रावधान रहेको जनाएको छ।
यसैबीच, सोही विषयमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई पनि सचेत गराइएको छ। प्रधानमन्त्री शाहले रास्वपाको सिफारिसअनुसार मन्त्री मेहतालाई सचेत गराइसकेको जानकारी दिइएको छ।

