काठमाडौँ — राष्ट्रियसभाका चार विषयगत समितिका नवनियुक्त सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन्। शपथ लिनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया रहेका छन्।
शपथग्रहण कार्यक्रममा सङ्घीय संसद्का पदाधिकारी, सांसद तथा सचिवालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। नवनियुक्त सभापतिहरूले आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रियसभाका विभिन्न विषयगत समितिहरू संसद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउने महत्वपूर्ण अंगका रूपमा लिइन्छन्।

