काठमाडौं — संसदको कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ।
आज बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्न मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिले नयाँ व्यवस्था तथा आवश्यक सुधारका विषयमा काम गर्नेछ।
बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय पनि गरेको छ। विद्यमान नियमावली अनुसार उक्त समितिमा २१ सदस्य रहने व्यवस्था छ।
यसैगरी, संसदको कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै लैजाने निर्णय पनि गरिएको छ। यसले संसदको कार्यसम्पादनलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

