पर्सा — पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा प्रदान गर्दै आएका लेखापढी व्यवसायीहरू सोमबारदेखि आफ्नो सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन्।
नयाँ सरकार गठनसँगै प्रहरीले विभिन्न सरकारी कार्यालयबाट बिचौलियाको आरोपमा धरपकड सुरु गरेको विरोधमा उनीहरूले अनिश्चितकालीन हड्ताल घोषणा गरेका हुन्।
गत शुक्रबार पर्साको पोखरिया मालपोत कार्यालयबाट प्रहरीले बिचौलियाको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएपछि आन्दोलन चर्किएको हो।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा जिल्लाका मालपोत, नापी, भूमीसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूले हड्तालमा सहभागिता जनाएका छन्। एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णयअनुसार सरकार र प्रहरी प्रशासनको कार्यशैलीविरुद्ध आन्दोलन सुरु गरिएको हो।
अध्यक्ष यादवले लेखापढी व्यवसायीहरूलाई बिना कारण कार्यालय परिसरभित्र तथा बाहिरबाट समेत पक्राउ गरिएको आरोप लगाए। नेपाल सरकारको नियमअनुसार भु–सेवा केन्द्र सञ्चालन अनुमति लिएर कानुनी रूपमा काम गर्दै आएको अवस्थामा विभिन्न बहानामा धरपकड गरिनु खेदजनक भएको उनले बताए।
उनले विभिन्न जिल्लाबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न माग समेत गरेका छन्।
अध्यक्ष यादवका अनुसार पर्सा जिल्लामा भु–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १२१ जना तथा लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सयभन्दा बढी व्यवसायी रहेका छन्।
हड्तालका कारण सेवाग्राहीहरू प्रभावित भएका छन् भने सम्बन्धित सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समेत असर परेको छ।

