काठमाडौं — प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची टुंग्याउन प्रमुख राजनीतिक दलहरूले आज बैठक बस्दैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टीका उपसभापति डिपी अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्न बैठक आह्वान गरिएको हो। बैठकले सूची टुंग्याएपछि रास्वपाले निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था प्रतिकूल बनेपछि शनिबारका लागि बोलाइएको सचिवालय बैठक आजका लागि सारिएको हो। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रास्वपाले १२५ स्थानमा विजयी हासिल गरेको छ भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।
यस्तै, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आज बस्दैछ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गर्नेछ। त्यसपछि सो सूची निर्वाचन आयोगमा पठाइने छ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि आज बैठक बसेर प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको अन्तिम सूची टुंग्याउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र नामावली टुंग्याएर बुझाउन पत्राचार गरेपछि नेकपाले बैठकमार्फत निर्णय गर्न लागेको हो।
निर्वाचन परिणामअनुसार नेकपाले प्रत्यक्षतर्फ आठ सिट जितेको छ भने समानुपातिकतर्फ नौ सिट प्राप्त गरेको छ। पार्टीले आजको बैठकमा निर्वाचन परिणामका विषयमा पनि समीक्षा गर्ने जनाएको छ। समानुपातिकतर्फ नेकपाले कुल आठ लाख ११ हजार ५७७ मत प्राप्त गरेको थियो।

