काठमाडौं — गोरखामा शनिबार बेलुका भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइते सबैको पहिचान खुलेको छ।
शनिबार बेलुका करिब ८ बजे गोरखाको सहिद लखन गाउँपालिका–३ कनटारमा मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको इभी माइक्रोबस दुर्घटनामा पर्दा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा सवार १४ जना तीर्थयात्री मनकामना मन्दिरबाट फर्किने क्रममा चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा भारतका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीय सिबगामी, ५७ वर्षीय बिजायल, ५८ वर्षीय मिना र ६० वर्षीय तमिलारशी रहेका छन्। उनीहरू सबै भारतीय नागरिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर बिकले जानकारी दिए। मृतकमध्ये पाँच पुरुष र दुई महिला रहेका छन्।
दुर्घटनामा घाइते भएकामध्ये माइक्रोबस चालक लमजुङ सुन्दरबजार नगरपालिका–१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी र सहचालक बेँसीसहर नगरपालिका–३ का २९ वर्षीय सन्तोष गुरुङ रहेका छन्।
त्यस्तै भारतका ६२ वर्षीय सोरनस, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीय शुभद्रा, ६५ वर्षीय मयाल, ७३ वर्षीय सरोजा, ६५ वर्षीय भाग्यलक्ष्मी र ३४ वर्षीय मिनाक्षी घाइते भएका छन्। उनीहरूको चितवनस्थित भरतपुर अस्पताल तथा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

