काठमाडौं -नेपाल आयल निगमले आज (शुक्रबार)देखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन्। आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यासको माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको निगमले जनाएको छ।
भट्टका अनुसार आधा सिलिन्डर ग्यास वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने अपेक्षा गरिएको छ। उनका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने स्थानमा अब करिब २ हजार जनाले ग्यास पाउने सम्भावना रहनेछ।
यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास भण्डारण (स्टक) गरेर राख्ने प्रवृत्ति पनि घट्ने निगमको दाबी छ।
‘आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै समस्या परेको छ उसले मात्रै किन्छ,’ कार्यकारी निर्देशक भट्टले भने।
निगमका अनुसार यो निर्णयले बजारमा देखिएको ग्यास अभाव कम हुने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।

