काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा धमाधम चुनावी खर्च विवरण बुझाउन थालेका छन्। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न उम्मेदवार र राजनीतिक दललाई निर्देशन दिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ (४) अनुसार प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने व्यवस्था छ। साथै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ अनुसार खर्च विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ।
निर्वाचन आयोगका अनुसार तोकिएको समयभित्र खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवार तथा दललाई कानुनअनुसार कारबाही हुन सक्ने भएकाले अधिकांश उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गर्न थालेका छन्।
यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) ले १४ लाख १७ हजार २८९ रुपैयाँ चुनावी खर्च भएको विवरण बुझाएका छन्। झापा–५ बाट उम्मेदवार बनेका उनले सवारी साधन भाडा, प्रचार कार्यक्रम, नमुना मतपत्र छपाइ, ब्यानर तथा स्टिकरलगायत शीर्षकमा खर्च भएको उल्लेख गरेका छन्।
त्यस्तै तनहुँ–१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेले २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएका छन्। उनका अनुसार प्रचार सामग्री खरिद तथा प्रिन्टमा सबैभन्दा बढी ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको छ।
चितवन–२ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। सो रकम यातायात, प्रचार सामग्री, मतदाता प्रशिक्षण कार्यक्रम तथा खाद्यान्न व्यवस्थापनमा खर्च गरिएको जनाइएको छ।
चितवन–३ की उम्मेदवार सोविता गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावी खर्च भएको विवरण सार्वजनिक गरेकी छिन्। प्रचार सामग्री, सवारी साधन, मतदाता प्रशिक्षण र खाद्यान्न व्यवस्थापनमा खर्च भएको उनले उल्लेख गरेकी छन्।
त्यस्तै म्याग्दी–१ बाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। उनको विवरणअनुसार होटलमा खाना तथा बसोबासका लागि सबैभन्दा धेरै १३ लाखभन्दा बढी रकम खर्च भएको छ।
नेकपा (एमाले) नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च गरेको विवरण दिएका छन् भने एमाले महासचिव शंकर पोखरेलले पनि सवारी साधन, प्रचार सामग्री, गोष्ठी तथा कार्यालय सञ्चालनलगायत शीर्षकमा खर्च भएको विवरण बुझाएका छन्।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले २३ लाख १० हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। तर काठमाडौं–५ बाट चुनाव लडेका उनले अपेक्षित मत ल्याउन नसकी जमानतसमेत जोगाउन सकेनन्।
निर्वाचन आयोगले सबै उम्मेदवारलाई पारदर्शिता कायम गर्न निर्वाचन खर्च अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। अन्य उम्मेदवारले पनि खर्च विवरण बुझाउने क्रम जारी रहेको आयोगले जनाएको छ।

