काठमाडौं — इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को फिफा विश्वकप फुटबलमा सहभागी नहुने संकेत गरेका छन्।
खेलकुदमन्त्री डोन्यामालीका अनुसार प्रतियोगिताको सह–आयोजक अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि उत्पन्न सुरक्षा अवस्थाका कारण इरानले विश्वकपमा भाग लिन नसक्ने स्थिति बनेको हो। उनले इरानी खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै विश्वकपमा सहभागिता जनाउन कठिन हुने बताएका छन्।
उनको अभिव्यक्तिपछि इरानी फुटबल महासंघ तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने यस विषयमा तत्काल कुनै आधिकारिक टिप्पणी गरेका छैनन्।
४८ टोली सहभागी हुने २०२६ को विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने तालिका छ। प्रतियोगितामा इरान समूह ‘जी’ मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग रहेको छ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको खबर सार्वजनिक भएपछि मध्यपूर्व क्षेत्रमा तनाव झन् बढेको बताइएको छ।

