पर्सा । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अन्ततः युवा नेता राकेश यादवको नाम सिफारिस गरेको छ। प्रदेश कार्यसमितिको सिफारिस पत्र केन्द्रीय कार्यसमितिमा पुगेर दर्तासमेत भइसकेको यादवले जानकारी दिएका छन्।
यसअघि क्षेत्रीय तथा जिल्ला कार्यसमितिले यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादव गरी तीन जनाको नाम मात्र सिफारिस गरेका थिए। त्यसपछि युवा नेता यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी उम्मेदवारी सिफारिसका लागि लिखित निवेदन दिएका थिए।
विधानअनुसार प्रदेशबाट सिफारिस
यही निवेदनका आधारमा प्रदेश सभापति यादवले पार्टी विधानअनुसार पर्सा–२ को प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा राकेश यादवको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेका हुन्। पुस ८ गते नै प्रदेश सभापतिले क्षेत्र र जिल्लाबाट छुट हुन गएकाले प्रदेश कार्यसमितिले यादवको नाम सिफारिस गरेको स्पष्ट पारेका थिए। युवा नेता यादवले क्षेत्र र जिल्लामा पुराना नेताहरूको दबाबका कारण आफ्नो नाम हटाइए पनि आफूले प्रदेश कार्यसमितिमा निवेदन दिएको र त्यसैका आधारमा विधानअनुसार नाम सिफारिस भएको बताए। प्रदेश कार्यसमितिको सिफारिस पत्र केन्द्रीय कार्यालयमा दर्ता भइसकेको उनले जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न यादवले गत मंसिर २२ गते क्षेत्रीय कार्यसमितिमा ११ हजार रुपैयाँ दस्तुरसहित आवेदन दिएका थिए। त्यसबेला क्षेत्रीय कार्यसमितिले यादवसहित अजय चौरसिया, राजेन्द्रबहादुर अमात्य र मदन यादव गरी चार जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको क्षेत्रीय सभापति महमद साहबुदिनले जानकारी दिएका थिए।
तर केही दिनमै क्षेत्रीय कार्यसमितिले यादवबाहेक अन्य तीन जनाको नाम मात्र जिल्ला कार्यसमितिमा सिफारिस गरेको खबर सार्वजनिक भएपछि यादवले मंसिर २९ गते कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई भेटेर पुनः लिखित निवेदन दिएका थिए। त्यसपछि कांग्रेस जिल्ला कार्यसमितिले पनि यादवको नाम हटाएर अन्य तीन जनाको नाम मात्र मधेस प्रदेश कार्यसमितिमा पठाएको जानकारी मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले यादवलाई गराएका थिए।
पर्साको बहुदरमाई नगरपालिका–२, सिसियाडी बैरियाका स्थायी बासिन्दा राकेश यादव नेबिसंघका पूर्वसभापति हुन्। उनी वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव तथा नेपाल तरुण दल पर्साका पूर्व जिल्ला सचिवसमेत रहिसकेका छन्।

