पुनम चौधरी पर्सा – स्मार्ट क्रिएटिभ नामक संस्थाका संचालक कमल बाबु चौधरीमाथि सदस्यहरूबाट संकलन गरिएको रकमअनुसारको सामान वितरण नगरी सम्पर्कविहीन भएको आरोप लागेको छ। विभिन्न स्थानका ६९९९ सदस्यहरूले आफूहरूले लामो समयदेखि किस्ताबन्दी वा एकमुष्ट रूपमा रकम बुझाए पनि सम्झौताअनुसारको सामान नपाएको गुनासो गरेका छन्। यस घटनाले स्थानीय स्तरमा ठूलो चर्चा र आक्रोश सिर्जना गरेको छ।
सदस्यहरूको भनाइअनुसार स्मार्ट क्रिएटिभले आकर्षक उपहार जस्तै होम थ्रेटर, टेबलेट मोबाइल, दुई तोला सुन, मोटरसाइकल, स्टील दराज, कूलर निश्चित समयभित्र सामान वितरण गरिने आश्वासन दिएर मानिसलाई सदस्य बनाएको थियो। सुरुका केही सदस्यले सामान पाएको दाबी गरे पनि पछिल्ला महिनाहरूमा अधिकांश सदस्यले न त सामान पाएका छन्, न त संचालकसँग सम्पर्क गर्न सकेका छन्।
पीडित सदस्यहरूका अनुसार कमल बाबु चौधरी ८ महिना देखि एजेन्सी, सदस्यहरुको सम्पर्कमा नरहेको र सामाजिक सञ्जालमार्फत पनि सम्पर्क हुन नसकेको अवस्था छ। यस कारण उनले योजनाबद्ध रूपमा सदस्यहरूलाई ठगी गरी फरार भएको आशंका व्यक्त गरिएको छ। यद्यपि यस विषयमा चौधरीको आधिकारिक धारणा हालसम्म सार्वजनिक भएको छैन।
एक पीडित सदस्यले भने, “हामीले महिनौँसम्म पैसा तिर्यौँर। सम्झौताअनुसार सामान आउने मिति पटक–पटक सारियो। अन्ततः न सामान आयो, न कार्यालय खुल्यो।” अर्का सदस्यका अनुसार केहीले ऋण लिएरसमेत पैसा बुझाएकाले अहिले आर्थिक र मानसिक तनावमा परेका छन्।
पीडित सदस्यहरू हाल सामूहिक रूपमा छलफल गर्दै कानुनी बाटो अपनाउने अपनाएका छन्। केहीले प्रहरीमा जाहेरी दिने, उपभोक्ता अधिकार निकायमा उजुरी गर्ने र स्थानीय प्रशासनलाई जानकारी गराउने प्रक्रिया अघि बढाइरहेका छन्। उनीहरूको माग स्पष्ट छ—या त सम्झौताअनुसार सामान उपलब्ध गराइयोस्, या बुझाइएको रकम फिर्ता गरियोस्।
हालसम्म स्मार्ट क्रिएटिभको कार्यालयको अवस्था, संस्थाको कानुनी स्थिति र संचालक कमल बाबु चौधरीको वास्तविक अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन। त्यसैले सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्य सार्वजनिक गर्नुपर्ने माग बढ्दो छ। यदि आरोप सही ठहरिएमा पीडित सदस्यहरूले न्याय पाउने र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा कदम चालिनुपर्ने आवाज उठिरहेको छ।
अन्ततः यो घटना केवल एउटा संस्थाको मात्र नभई समग्र प्रणालीको प्रश्न बनेको छ। पारदर्शिता, जवाफदेहिता र कडा निगरानी बिना यस्ता योजना फस्टाइरहने खतरा रहन्छ। पीडित सदस्यहरूले न्यायको अपेक्षा गरेका छन् भने सर्वसाधारणले पनि यसबाट पाठ सिकेर सचेत रहनु आवश्यक देखिन्छ।

