काठमाण्डाै – सङ्घीय सरकारले सडक तथा पुलजस्ता यातायातका पूर्वाधारहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । देश सङ्घीय प्रणालीमा गएपछि सङ्घ मातहत रहेका त्यस्ता सडक तथा पुलहरूलाई प्रदेशमा हस्तान्तरण गरिएको थिएन ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको आजकाे बैठकले त्यस्ता पूर्वाधारलाई हस्तान्तरण निर्णय गरेको हो । राष्ट्रिय राजमार्ग भने सङ्घ मातहत नै रहनेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले मर्मत–सम्भार गर्दै आइरहेका राष्ट्रिय राजमार्गबाहेकका सहायक मार्गमध्ये अहिले कोशी, बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी आफ्नो क्षेत्राधिकार रहने गरी प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको सञ्जाल कायम गरेको थियो ।
अन्य प्रदेशहरूबाट पनि यसै खालको तयारी भएपछि प्रदेशको क्षेत्राधिकारमा पर्ने सडकहरू चालू आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी सडकहरूमा कार्यरत लेन्थवर्कर र सुपरभाइजरहरूसहित सम्बन्धित प्रदेशलाई स्वामित्व हस्तान्तरण गरिनेछ ।

