कलैया । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराका साथ कलैयामा स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच भएको एक अन्तरक्रिया कार्यक्रमले श्रमिक अधिकार र जिम्मेवारीका विषयमा गहन छलफल गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कलैया उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सम्पन्न यो कार्यक्रमले रोजगारी सिर्जनाका अवसर र चुनौतीहरूलाई उजागर गरेको छ।
कलैयाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग व्यवसायी, श्रमिक संगठनका प्रतिनिधि, मानव अधिकारकर्मी र पत्रकारसहित विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो। छलफलको मुख्य उद्देश्य श्रमिकको योगदानको कदर गर्दै उनीहरूको अधिकारको संरक्षण, सुरक्षित कार्य वातावरण निर्माण र उत्पादनशीलता वृद्धि गर्ने रहेको आयोजकले जनाएको छ। सहभागीहरूले श्रमप्रति सम्मान गर्ने संस्कार विकास गर्न सबै पक्षको सक्रियता अपरिहार्य रहेकोमा जोड दिएका थिए।
रोजगार सेवा केन्द्र शाखाका प्रमुख विवेक गुप्ताले कार्यक्रमको औचित्यमा प्रकाश पार्दै कलैया उपमहानगरपालिकाभित्र करिब १ हजारभन्दा बढी बेरोजगारको तथ्यांक संकलन भएको र १५० जना रोजगारदाताको पनि विवरण सङ्कलन गरिएको जानकारी दिए । गुप्ताका अनुसार रोजगार सेवा केन्द्रको मुख्य काम नै बेरोजगार र रोजगारदाताबीच समन्वय गराउनु हो।
कार्यक्रम सहजीकरण गरेका जीवन श्रेष्ठले नेपालमा ‘केवल विदेश जानै पर्ने’ भन्ने गलत भाष्य निर्माण भएकोमा चिन्ता व्यक्त गरे । श्रेष्ठले हरेक वर्ष देशमा करिब ५ लाखभन्दा बढी नयाँ श्रमशक्ति थपिने गरेको तथ्य पेश गर्दै नेपाल सरकारको दीर्घकालीन सोचबारे प्रकाश पारे। उहाँले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने, सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २१०० सम्ममा मर्यादित तथा उत्पादनशील रोजगारीका अवसर उपलब्ध गराउने लक्ष्यका साथै २०२५–२०३५ लाई दश वर्षे आन्तरिक रोजगार प्रवर्द्धन वर्षका रूपमा मनाइने जानकारी दिए।
कार्यक्रममा उपस्थित व्यवसायीहरूले भने आफ्नो असन्तुष्टि व्यक्त गरे। उनीहरूले गत वर्ष पनि यस्तै कार्यक्रममा बोलाएर केवल ‘सही’ गराउने काम मात्र भएको र एक वर्षपछि पनि फेरि ‘सही’ गराउन बोलाएर समय खेर फालेकोमा दुःख व्यक्त गरे। ‘हामी केवल कर तिर्न जन्मेको हो र ?’ भन्दै उनीहरूले सरल र व्यवसायीमैत्री नीतिहरू नबनाएकोमा सरकारलाई प्रश्न गरे।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, उपप्रमुख रौशन प्रवीण, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादव र बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह लगायत विभिन्न क्षेत्रका सरोकारवाला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

