काठमाण्डाै – सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि छफलपछि पारित भएको हो ।
छलफलकै क्रममा सांसद प्रभु साहले विधेयक च्यात्नुभएको थियो । साथै उहाँले निजामती विधेयकलाई ‘गरिबमारा’ को संज्ञा दिनुभएको थियो । तर सभामा उठेका प्रश्न र जिज्ञासामाथि जवाफ दिने क्रममा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान–२०७२ अनुसार विधेयक आएको बताउनुभयो । यो विधेयक ऐनमा रूपान्तरित भएसँगै प्रशासनिक सङ्घीयता कार्यान्वयन गर्न सहज हुने उहाँकाे भनाइ छ ।
सङ्घीय निजामती सेवाबाट अवकाश पाएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने यसअघि सहमति भएको थियो । जसलाई ‘कुलिङ पिरियड’ भनिन्छ । यो विषयमा कतिपयको असन्तुष्टि छ ।
आज प्रतिनिधिसभाबाट पारित यो विधेयक अब राष्ट्रियसभामा जान्छ । राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । त्यसपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणीकरणसँगै ऐनका रुपमा लागू हुन्छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेकाे छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय समिति बनाएको छ । तर रास्वपा र राप्रपाले त्यो समिति नमान्ने भन्दै अवरोध गर्दै आएका छन् । प्रतिनिधिसभाको अर्काे बैठक आउँदो असार २३ गते बस्नेछ ।

