जनकपुरधाम । मधेश प्रदेशको खेलकुद मन्त्रालयद्वारा आयोजित “मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता” आज एक विशेष कार्यक्रमका बीच जनकपुरधाममा उद्घाटन गरिएको छ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले गर्नुभएको हो। उद्घाटन समारोहमा मन्त्री जैसवालले खेलकुदको विकासले मुलुकको समग्र उन्नतिमा योगदान पुर्याउने भन्दै खेलाडीहरूलाई निरन्तर अभ्यास, अनुशासन र लगनशीलताको सन्देश दिनुभयो।
उहाँले भन्नुभयो, “खेलकुद केवल मनोरञ्जन वा प्रतिस्पर्धाको विषय मात्र होइन, यो युवाहरूलाई सकारात्मक ऊर्जा दिने माध्यम हो। प्रदेश सरकारले खेलकुद क्षेत्रको पूर्वाधार, प्रशिक्षक विकास र खेलाडी प्रोत्साहनका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिएको छ।”
प्रतियोगितामा देशका विभिन्न प्रदेशबाट टोलीहरू सहभागी भएका छन्। यस कबड्डी प्रतियोगिताले प्रदेशस्तरीय खेल क्षमताको मुल्यांकन मात्र नभई, आपसी भाइचारा र एकता प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा खेलकुद मन्त्रालयका उच्च अधिकारी, जनप्रतिनिधि, खेलप्रेमी जनता तथा सहभागी खेलाडीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्रतियोगिता केही दिनसम्म जनकपुरधामको विभिन्न खेलमैदानमा सञ्चालन हुनेछ।

