काठमाण्डाै – सङ्घीय संंसद्को संयुक्त बैठकमा पेश भएको आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको बैठकमा छलफल शुरू भएको छ । जेठ १५ गते प्रस्तुत बजेटमाथि १८औं दिनमा बल्ल आज छलफल शुरू भएको हो ।
यसअघि विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गरेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर बैठकको अवरोध हटाएपछि आज बैठक चलेको हो । तर आज विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नाराबाजी गरेका छन् ।
रास्वपाले बेल घेराउ र राप्रपाले सिटबाट उठेर विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले बैठक अघि बढाएर बजेटमाथिको छलफल गराउनुभएको हो ।
आजको बैठकमा अर्थमन्त्री पौडेलले वक्तव्यहित आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । छलफल प्रक्रियामा शुरूमा नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले भाग लिनुभएको छ ।

