भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा भारत सरकार र भारतीय जनता नेपालका साथमा रहेको बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र साहसँग टेलिफोन कुराकानी गर्दै प्रधानमन्त्री मोदीले बाढीबाट प्रभावित तथा पीडितप्रति समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत यस कठिन समयमा भारतीय जनता नेपालका दिदीबहिनी तथा दाजुभाइसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् ।
उनले भारत सरकार नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको समेत स्पष्ट पारेका छन् । उद्धार तथा राहत कार्यमा दुवै देशका सम्बन्धित टोलीबीच नजिकबाट समन्वय भइरहेको उनको भनाइ छ ।
नेपालमा पछिल्लो बाढीबाट विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि छिमेकी मुलुक भारतले मानवीय सहायता तथा उद्धार कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

