नेपालमा आएको भीषण बाढीको असर चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्याइरोङ) काउन्टीमा समेत गम्भीर रूपमा परेको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार बाढी र लेदोका कारण केरुङमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी मानिस बेपत्ता भएका छन् । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि करिब ६०० जना अग्निनियन्त्रक परिचालन गरिएको छ । उद्धार टोलीले खोजी कुकुर, जीवन खोजी उपकरण तथा इन्फ्लेटेबल बोटलगायतका सामग्री प्रयोग गरिरहेका छन् ।
चीन सरकारले तत्काल उद्धार तथा राहतका लागि करिब १७ मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद् राहत कोषसमेत विनियोजन गरेको जनाएको छ ।
बाढीसँगै आएको लेदोका कारण सडकहरू अवरुद्ध भएपछि उद्धार कार्यमा कठिनाइ भइरहेको छ। तिब्बतको सिगात्से सैन्य सब–कमान्डअन्तर्गत केरुङ सीमा सुरक्षा कम्पनीका अधिकारी चेन सिले सडक खुलाउन लोडर र एक्स्काभेटर प्रयोग भइरहेको जानकारी दिएका छन् ।
निरन्तर वर्षा र थप पहिरोको जोखिमका कारण केही उद्धार टोलीलाई कमान्ड सेन्टरमै तयारी अवस्थामा राखिएको छ। चेनका अनुसार आसपासका पहाडी भीर जुनसुकै बेला खस्न सक्ने तथा पुनः लेदो बग्ने जोखिम कायमै छ । प्रत्यक्षदर्शीका अनुसार केही स्थानमा करिब १.५ मिटर अर्थात् पाँच फिटसम्म बाक्लो लेदो जमेको छ। बुधबार बिहान आएको लेदोले केरुङ सीमा बन्दरगाहलाई समेत पूर्ण रूपमा ढाकेको बताइएको छ।
चेनका अनुसार सीमा बन्दरगाहभित्र रहेका मानिसहरूसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। उद्धार टोली बुधबार साँझ ५ बजे ग्याइरोङ काउन्टीको एक बस्तीमा पुग्न सफल भएको र अन्य प्रभावित क्षेत्रमा पुग्ने प्रयास जारी रहेको सीसीटीभीले जनाएको छ।
केरुङ काउन्टीमा स्थायी बासिन्दाको संख्या २० हजारभन्दा कम रहेको बताइएको छ। यद्यपि, निर्माण क्षेत्रमा कार्यरत कामदार तथा अन्य प्रवासी मजदुरहरूको संख्या उक्त तथ्यांकमा समावेश नहुन सक्ने भएकाले बेपत्ताको वास्तविक संख्या अझै यकिन हुन नसकेको जनाइएको छ।

