कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित हात पारेको छ। नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गरेको हो ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए। उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
पवन सराफले अविजित २९, मयन यादवले २१ तथा लोकेश बमले १२ रनको योगदान दिए । एसीटीका जेक केओघले तीन तथा जित मेहताले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४० रन बनाएको थियो । उसका लागि डिलन हन्टरले ४४ रन बनाए भने अंश तिवारी र कप्तान निक ब्रोएसले समान १९ तथा जेक स्मिथले १४ रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए । युवराज खत्रीले दुई तथा साहब आलम, पवन सराफ र विपिन खत्रीले एक–एक विकेट लिए। जितसँगै नेपालले चार खेलबाट चार अंक जोडेको छ । चारवटै खेलमा पराजित एसीटी भने अंकविहीन छ ।
प्रतियोगितामा नेपालले यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट तथा बंगलादेश हाइ पर्फर्मेन्स टिमसँग नौ विकेटको फराकिलो हार बेहोरेको थियो । त्यसपछि होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको नेपालले एसीटीविरुद्धको जितसँगै लगातार दुई खेलमा सफलता हात पारेको हो ।
नेपाल ‘ए’ले आज किंग्समेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ ।

