रसुवा, नुवाकोट, धादिङ र गोरखाका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि प्रमुख राजनीतिक दलहरूले आफ्ना संगठनात्मक संयन्त्र परिचालन गर्ने निर्णय गरेका छन् ।
विपद्को अवस्थामा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर तत्काल मानवीय उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने भन्दै दलहरूले सरकारले चाल्ने सबै कदममा साथ दिने प्रतिबद्धता जनाएका छन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपीडितका लागि सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालय बैठकले सांसद तथा पार्टीका तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिए ।
रास्वपाले राहत तथा उद्धारमा राज्यको एकद्वार प्रणालीलाई प्राथमिकता दिँदै स्थानीय प्रशासन र सरकारी संयन्त्रसँग समन्वय गरेर मात्रै सहयोग गर्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । विपद्का बेला अफवाह फैलिन सक्ने भन्दै पार्टीले राज्यका आधिकारिक सूचनामात्र सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ ।
नेपाली कांग्रेसले पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेता–कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक बैठकले नीति प्रतिष्ठानको बुधबारको कार्यक्रम तथा बिहीबारदेखि तय भएका महिला उद्यमीलगायत कार्यक्रम स्थगित गरेको हो ।
कांग्रेस सभापति गगन थापाले विपद्को अवस्थामा सरकारले चाल्ने सबै कदममा पार्टीको साथ र सहयोग रहने बताएका छन् । स्थानीय जनप्रतिनिधि, क्रियाशील सदस्य तथा भ्रातृ संस्थालाई आवश्यकता र क्षमताअनुसार उद्धार तथा राहतमा खटिन निर्देशन दिइएको उनले जानकारी दिए ।
कांग्रेसले प्रभावित रसुवा जिल्लाका सांसद मोहन आचार्यको समन्वयमा सरकार तथा स्थानीय तहसँग सहकार्य गरी पार्टीको जनशक्ति, स्रोत र साधन परिचालन गर्ने जनाएको छ ।
नेकपा एमालेले पनि बाढी प्रभावित क्षेत्रमा नेता, कार्यकर्ता, जनसंगठन तथा जनप्रतिनिधिलाई तत्काल खोजी, उद्धार र राहतमा परिचालन गर्न निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी मानवीय सहायताका काममा अग्रपंक्तिमा खटिन पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।
एमालेले बेपत्ताको खोजी तीव्र बनाउन, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापना गर्न, घाइतेको उपचार र क्षतिको विवरण संकलनका लागि राज्यका सबै संयन्त्र तत्काल परिचालन गर्न सरकारसँग माग गरेको छ ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपाले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन नेता गंगालाल तुलाधरको नेतृत्वमा समन्वय समिति गठन गरेको छ। सरकारी निकायसँग समन्वय गर्ने तथा पार्टीपंक्ति परिचालन गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।
नेकपाले बेपत्ताको खोजी तीव्र बनाउन, विस्थापितका लागि अस्थायी बसोबास तथा राहतको व्यवस्था गर्न र मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विपद्को समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी ‘एक टिम, एक राष्ट्र’ भएर उद्धार तथा राहतमा जुट्न अपिल गरेका छन् । उनले चीन, नेपाल हुँदै भारतसम्म जोडिएको नदी प्रणालीमा पूर्वसूचना तथा आधिकारिक सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
थप बाढीपहिरोको जोखिम रहेकाले उद्धारमा खटिने टोली उच्च सतर्क रहनुपर्नेमा पनि साम्पाङले जोड दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन आह्वान गरेका छन्। उनले सरकारका सम्पूर्ण संयन्त्र उच्च सतर्कताका साथ परिचालन गरी जीवनरक्षा, बेपत्ताको खोजी, उद्धार, उपचार तथा तत्काल राहतलाई प्राथमिकता दिन माग गरेका छन् ।
बाढी तथा पहिरोका कारण प्रभावित जिल्लामा जनधनको क्षति बढ्न सक्ने जोखिम रहेकाले राजनीतिक दलहरूले सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी मानवीय सहायता तथा उद्धारलाई प्राथमिकतामा राख्न आफ्ना संगठनलाई निर्देशन दिएका छन् ।

