काठमाडौँ – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) ले मध्यपूर्व युद्धको चपेटामा परेको र जोखिममा रहेका आप्रवासीलाई इरान बाट बाहिर निकाल्ने पहल सुरु गरेको छ। एएफपी का अनुसार गोलाबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासीहरू अत्यधिक जोखिममा रहेका छन्।
IOM का पुनर्वास तथा आवागमन व्यवस्थापन निर्देशक डेभिड जोन ले जेनेभामा पत्रकारसँग केही आप्रवासीलाई इरानबाट घर फर्किन सहयोग गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार सङ्कटमा परेका सयौँ आप्रवासीसहित अन्य तेस्रो देशका नागरिकलाई सहयोग गर्न संगठन तयार छ।
संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय (UNHCR) ले हालै इरानमा ३२ लाख मानिस विस्थापित भएका जानकारी दिएको थियो। अमेरिका–इजरायलको संयुक्त आक्रमण फेब्रुअरी २८ बाट सुरु भएयता युद्धको असर मध्यपूर्व क्षेत्रभर फैलिएको छ। युद्धका कारण इन्धन संकट सिर्जना भएको र आयात–निर्यातमा व्यवधान परेको छ।
विशेषगरी समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द हुँदा तेल, ग्यास उद्योग मात्र होइन, विश्वव्यापी यातायात प्रणाली पनि प्रभावित भएको छ। हजारौँ व्यावसायिक जहाजहरू अवरुद्ध भएका छन्। सामुद्रिक यातायात कम्पनी CMA CGM का प्रमुख कार्यकारी रोडोल्फ साडे ले फ्रान्सेली पत्रिका फिगारो लाई बताएअनुसार युद्ध लम्बिए जोखिम अझ बढ्ने सम्भावना रहेको छ।
विशेषज्ञहरूले पछिल्लो मध्यपूर्व तनावले केही हदसम्म कोरोना महामारीका समय जस्तै आर्थिक र सामाजिक असुरक्षा निम्त्याएको बताएका छन्।

