काठमाडौँ – मौसम पूर्वानुमान महाशाखा ले पर्सि आइतबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले सार्वजनिक गरेको तीनदिने मौसमी बुलेटिनअनुसार आज विशेषगरी मध्य र पूर्वी क्षेत्रको मौसम बढी प्रभावित हुने देखिएको छ।
आज कोशी प्रदेश का केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराई र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने अनुमान गरिएको छ।
पर्सि आइतबार भने देशका हिमाली भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हिजो पनि मध्य तथा पूर्वी क्षेत्रका धेरै स्थानमा वर्षा भएको थियो। मेघगर्जन र चट्याङको सम्भावना रहेकाले दैनिक गतिविधि गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षापछि वायुप्रदूषण केही घटे पनि पूर्ण रूपमा हट्न नसकेको महाशाखाले जनाएको छ।

