अबुधाबी — लेबनानको पूर्वी क्षेत्रमा पछिल्ला केही दिनदेखि बढ्दै गएको झडप र हवाई आक्रमणका घटनामा मृत्यु र घाइतेको संख्या बढ्दै गएको छ।
शनिबार पूर्वी लेबनानको नबी चित–हाम क्षेत्रमा भएको झडपमा कम्तीमा २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनास्थलमा चार इजरायली हेलिकोप्टर अवतरण गरेपछि हिजबुल्लाहका लडाकूहरूले उनीहरूसँग गोलीबारी गरेका थिए। झडपमा स्थानीय बासिन्दाहरू पनि सहभागी भएको बताइएको छ।
झडप चर्किएपछि इजरायली सेनाले फाइटर जेट र हेलिकोप्टरमार्फत उक्त क्षेत्रमा करिब ४० वटा हवाई आक्रमण गरेको जनाइएको छ। घटनामा लेबनानी सेना, सुरक्षा कर्मी तथा सर्वसाधारण नागरिकसमेत मारिएको जानकारी दिइएको छ।
यसअघि शुक्रबार पनि इजरायली हवाई सेनाले नबी चित र आसपासका क्षेत्रमा १३ वटा हवाई आक्रमण गरेको थियो।
सोमबार हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि क्षेत्रीय तनाव थप चर्किएको हो। त्यसपछि यो पहिलो ठूलो सैन्य झडप भएको बताइएको छ।

