काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेको नेतृत्वमा सरकार गठन नभए देशमा समस्या उत्पन्न हुन सक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संसदमा जनताका प्रश्नको स्पष्ट उत्तर दिन सक्ने र समय दिन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। यस्तो नेतृत्व नभए ‘बबाल हुने’ उनको चेतावनी छ।
जनताले चुनेपछि त्यसलाई सबैले स्वीकार गर्नुपर्ने भन्दै उनले सरकारको नेतृत्व रवि लामिछानेले गर्दा राम्रो हुने धारणा व्यक्त गरेका छन्।
यद्यपि उनले कसैको नाम नलिए पनि उनको टिप्पणी रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गरेको देखिन्छ। बालेन कम बोल्ने भएकाले जनताका प्रश्नको विस्तृत जवाफ दिन नसक्ने भन्दै सरकारको नेतृत्व रविले गर्नुपर्ने उनको तर्क छ।
यसअघि रास्वपाले चुनावअघि बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको थियो। बालेन देशभर प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारका रूपमा मत माग्दै हिँडेका थिए।
हालै सम्पन्न निर्वाचनमा उनले झापा–५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गरेका छन्।
हर्क साम्पाङले फेसबुकमा लेखेका छन्, “जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो। सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ। नबोल्ने मान्छेले विस्तृत उत्तर दिन सक्दैन।”

