काठमाडौं — गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको हताहती तथा भौतिक क्षतिको घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले सोमबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य तथा पूर्व डीआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारीसहितको टोली प्रतिवेदन बुझाउन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ।
आयोगका कर्मचारीहरूले प्रतिवेदनका ढड्डा तथा सम्बन्धित कागजातहरू समेत कार्यालयमा पुर्याइसकेका छन्।
सरकारले जेन–जी आन्दोलनका क्रममा भएको हताहती, क्षति तथा त्यसका कारणहरूको विस्तृत अध्ययन गर्न कार्की नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो।
आयोगले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलनमार्फत मुख्य निष्कर्ष र सिफारिसहरू सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

