काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता कायम राखेको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपा १०४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने १८ क्षेत्रमा अग्रता लिइरहेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म १३६ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। तीमध्ये नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रता कायम गरेको छ।
यसैगरी नेकपा (एमाले) सात क्षेत्रमा विजयी भएको छ भने तीन क्षेत्रमा अगाडि रहेको छ। नेपाली कम्युनिष्ट पार्टीका चार उम्मेदवार विजयी भएका छन् भने तीन क्षेत्रमा अग्रता लिइरहेका छन्।
श्रम संस्कृति पार्टीका एक उम्मेदवार विजयी भएका छन् भने दुई क्षेत्रमा अग्रता कायम छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले पनि एक–एक स्थानमा जित हासिल गरेका छन्।
उता फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ हालसम्म २९ लाख १० हजार ६७७ मत गणना सम्पन्न भएको छ। आयोगका अनुसार रास्वपाले १४ लाख ६१ हजार ३८१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ।
त्यसपछि नेपाली कांग्रेसले चार लाख ९४ हजार २५१, नेकपा (एमाले)ले चार लाख तीन हजार ८९९ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ९३ हजार ५५० मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख छ हजार ३९६ तथा श्रम संस्कृति पार्टीले ५९ हजार २४१ मत प्राप्त गरेका छन्।

