वीरगंज – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गर्नुभएको छ ।
दुई दिनदेखि लगातार प्रतिनिधिकोसभाको बैठक अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र बजेट पेश गर्न दिएसँगै अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण आज प्रतिनिधिसभामा पेश गर्नुभएको हो ।
अर्थमन्त्री पाैडेलले चालू वर्षको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत हुने जानकारी गराउनुभयो । मधेश, कोशी, सुदूरपश्चिमबाहेकका प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उहाँको भनाइ छ ।
देशको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५ दशमलव ६ प्रतिशत, उद्योगको १२ दशमलव ८३ र सेवा क्षेत्रको योगदान ६२ दशमलव ०१ प्रतिशत रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराउनुभयो ।
चालू आर्थिक वर्षकाे फागुन मसान्तसम्मको अवस्था अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख छ ।
यसैबीच अर्थमन्त्री पौडेलले अहिले ३ बजे आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुनेछ । सरकारले राष्ट्रिय योजना आयोगले दिएको १९ खर्ब ६५ करोड रुपैयाँको सिलिङभित्रै रहेर वर्षको बजेट ल्याउने बताएको छ ।
चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएकोमा अर्धवार्षिक समीक्षापछि १६ खर्ब ९२ अर्ब रुपैयाँ कायम गरेको थियो । हिजोसम्म कुल विनियोजनको ६६ प्रतिशतमात्र खर्च भएको छ ।

