जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनमा सामान्यभन्दा धेरै पानी पर्ने अनुमान गरेको छ । पानी धेरै परेपछि शहर–गाउँ सबै ठाउँमा बाढी, पहिरो, डुबानजस्ता विपद्को सम्भावना पनि बढ्छ ।
नेपालको भूगोल हेर्दा शहरहरू पहाड, मध्य पहाडी क्षेत्र र तराईमा छन् भने गाउँहरू हिमालदेखि तराईसम्म फैलिएका छन् । त्यसैले पानी परेपछि कहाँ कस्तो समस्या आउँछ भन्ने कुरा ठाउँअनुसार फरक हुन्छ । जस्तै– पहाड र हिमाली क्षेत्रमा पहिरोको जोखिम बढी हुन्छ, तराईमा डुबान र शहरमा पनि बाढी तथा नाली जाम भएर पानी थुप्रिने समस्या आउन सक्छ । त्यसैले हामी बसेको ठाउँमा के कस्तो जोखिम हुन्छ भनेर पहिले नै बुझ्नुपर्छ । अनि त्यहीअनुसार सुरक्षाका उपाय अपनाउनुपर्छ ।
शहरमा खोलामा आउने बाढीले धेरै असर पारिरहेको छ । खोला बगेको पानीसँगै आएको ढुङ्गा, माटो र बालुवाको कारण खोलाको सतह माथि आइपुग्छ । यस्तै विकास निर्माणका क्रममा खोलाले बग्ने ठाउँ साँघुरो हुँदै गइरहेको छ ।
नयाँ संरचना बनाउँदा जमिनमा पानी सोसिने ठाउँ नै नछोडी सबै ढलान बनाइन्छ, ढुङ्गा छापिन्छ जसले गर्दा पानी जमिनभित्र जानै पाउँदैन । यही कारणले गर्दा थोरै पानी परे पनि शहरमा डुबान र बाढीको जोखिम बढिरहेको छ । यस्तो अवस्था अघिल्लो वर्षहरूमा भन्दा झन् बढेको देखिन्छ ।
मध्य पहाडका शहरहरू जस्तै– काठमाण्डौ र पोखरामा पानी परेपछि केही समयमै सडक डुब्छन्, खोलाको किनारका बस्तीहरूमा पानी पस्ने खतरा हुन्छ । खोलाबाट बगेर आउने फोहोरले ढल, नाला र कुला थुनिन्छन् जसले गर्दा पानी बग्न सक्दैन र डुबान हुन्छ ।
त्यस्तै विराटनगर, धनगढी, नेपालगञ्जजस्ता तराईका शहरहरूमा त झन् पानी थुनिने समस्या देखिन्छ । यहाँ मनसुनको बेला भारी वर्षा हुँदा डुबानको जोखिम निकै बढ्छ ।
मनसुनको बेला शहरमा बाढी, पहिरो, डुबान र जमिन कटानको समस्या ल्याउँछ । यसले घर भत्किने, संरचनामा क्षति पुग्ने र जनजीवन अस्तव्यस्त हुने अवस्था निम्तिन्छ ।
त्यसैले शहरको विकास गर्दा खोलाको बग्ने प्राकृतिक बाटो नछेक्ने, जमिनमा पानी सोसिने ठाउँ जोगाउने र ढल, नाला सफा राख्ने काममा ध्यान दिन जरुरी छ । त्यसो भएमात्र डुबान र बाढीको जोखिम घटाउन सक्छ ।
डुबानसँगै अरू जोखिम पनि जोडिएरै आउँछन् । शहरमा हुने अर्को मुख्य समस्या भनेको सडकमा पानी जम्नु पनि हो । सडकमा पानी जम्नु भनेको केवल वर्षाको कारण मात्र होइन, फोहोरको व्यवस्थापन नहुनु पनि हो ।
सडक छेउमा बनाइएका नालीहरू पानी बगाउनका लागि हो । तर जब ती नाली प्लास्टिकका टुक्रा, पानीका बोतल, झोला र अन्य फोहोरले थुनिन्छन् तब पानी बग्न पाउँदैन र सडकमै जम्छ ।
यस्तो अवस्थामा सडकमा पानी भरिन्छ जसले गर्दा बाटो चाँडै बिग्रन्छ, भत्किन्छ र खाल्डाखुल्डीले भरिन्छ । यसले गाडी दुर्घटनाको खतरासमेत बढाउँछ । बिजुली, ढल र अन्य पूर्वाधार पनि यसकै कारण प्रभावित हुन्छन् । यस्तो समस्या बारम्बार दोहोरिनु भनेको हाम्रो लापरबाहीको परिणाम हो ।
त्यसैले सडक सफा राख्नु हाम्रो जिम्मेवारी हो । जथाभाबी सडकमा प्लास्टिक वा फोहोर फाल्नु हुँदैन । घरको फोहोरलाई कुहिने र नकुहिने भनेर छुट्याएर राख्ने र पालिकाको गाडी आएपछि दिने बानी बसाल्नुपर्छ ।
जसरी हामी आफ्नो घर सफा राख्छौँ, त्यसरी नै सडक पनि सफा राख्नुपर्छ । यसले मात्र हामीलाई सुरक्षित यात्रा र स्वच्छ वातावरण दिन सक्छ । यस्तै वर्षायाम शुरू भएसँगै गाउँहरूमा पनि विभिन्न प्राकृतिक जोखिमहरू बढ्न थाल्छन् ।
नेपालका गाउँहरू हिमाल, पहाड र तराई तीनै भौगोलिक क्षेत्रहरूमा फैलिएका छन् । तर मनसुनको समयमा मुख्य रूपमा पहाड र तराईका गाउँहरू बढी जोखिममा पर्छन् । तराईका गाउँहरूमा डुबान ठूलो समस्या हुन्छ । निरन्तरको वर्षाले खेत, बारी, घरबास नै डुबाउने अवस्था आउँछ ।
उता पहाडका गाउँहरूमा भने बर्खाको समयमा पहिरो, खहरे खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड), ढुङ्गा खस्ने जस्ता खतराहरू बढी देखिन्छन् । कहिलेकाहीँ यस्तो बाढी यति एक्कासी आउँछ कि मान्छे र पशुचौपायासम्म बगाउने खतरा हुन्छ ।
कतिपय ठाउँमा खोलाले बगाएर ल्याएको दाउरा टिप्न जाने गरेको पनि देखिन्छ । यस्तो जोखिमपूर्ण काम गर्नु हुँदैन । खोलामा बगाएका काठ, दाउरा सङ्कलन गर्न जाँदा ज्यानै जोखिममा पर्न सक्छ । यस्तो समयमा सतर्क रहनु, अनावश्यक जोखिम नलिनु नै बुद्धिमानी हो ।
गाउँहरूमा मनसुनको समयमा जोगिन सक्ने मुख्य उपाय भनेको पानीलाई बस्तीमा छिर्न नदिने हो । घर वरिपरि भल निकास राम्रो बनाउनुपर्छ । वर्षाको पानी गाउँमै पस्न दिनु हुँदैन ।
यदि समयमै पानी तर्काउने व्यवस्था गरियो भने घर, टोल र पूरै गाउँ सुरक्षित रहन सक्छ । तर पछिल्लो समय गाउँघरमा यस्तो सतर्कता अपनाउने चलन घट्दै गएको देखिन्छ ।
पहिलेजस्तै मिलेर खनेको भल, मिलेर बनाएको बाटो, साझा प्रयासहरू फेरि शुरू गर्न आवश्यक छ । किनभने धेरैजसो गाउँहरूमा एक ठाउँबाट अर्को ठाउँ जान खोलै तर्नुपर्छ । यस्तो बेलामा सुरक्षा सावधानी झनै जरुरी हुन्छ ।
जोखिमबाट कसरी जोगिने ?
प्राकृतिक प्रकोपबाट जोगिनका लागि सबैभन्दा पहिले सजग हुन जरुरी हुन्छ । बाढी र पहिरोजस्ता जोखिमहरू कति पानी परेपछि आउन सक्छन् भन्ने कुरा वैज्ञानिक अध्ययनहरूले पहिल्यै देखाइसकेका छन् । यस्तो जानकारीलाई बेलाबेलामा पढ्ने, सुन्ने र बुझ्ने बानी बसाल्नुपर्छ ।
प्रकोप आउनुभन्दा पहिले केही सङ्केतहरू देखिन्छन्– जस्तै पहिरो आउनुअघि जमिन गडगडाउने आवाज आउँछ । त्यस्तै बाढी आउनुअघि खोलानालाको पानी हिलो र धमिलो हुन्छ र पानीको बहाव अचानक बढ्छ । यस्ता सङ्केतहरू देखिएमा तत्काल सुरक्षित ठाउँतिर जानुपर्छ ।
प्राकृतिक प्रकोपलाई बुझ्न वैज्ञानिक सोच राख्न जरुरी छ । प्रकोप कस्तो हुन्छ र यसले के असर गर्छ भन्ने कुरा बुझ्नु र त्यसअनुसार तयारी गर्नु महत्त्वपूर्ण हुन्छ । सरकारले समय–समयमा दिने सूचना, चेतावनी र सन्देशहरूलाई ध्यानपूर्वक सुनेर व्यवहारमा उतार्नुपर्छ ।
हाम्रो घर र समुदायको सुरक्षा हामी सबैको जिम्मेवारी हो । यदि आफ्नो घरको नजिकै खोलामा पानी बगिरहेको छ भने पानी कस्तो गतिमा बग्दैछ, त्यसमा ढुङ्गा, बालुवा, काठ आदि थुप्रिएर पानीको बहाव रोकिएको त छैन भनेर सचेत हुनुपर्छ ।
यस्ता वस्तुहरूले खोलाको बहाव अवरुद्ध पारेर बाढीको खतरा बढाउन सक्छ । यसैले आफ्नो घर वरिपरि सुरक्षित राख्ने, खोलालाई बन्द गर्ने कुनै बाधा नपुर्याउने कुरामा विशेष ध्यान दिनुपर्छ ।
जोखिम कम गर्ने मुख्य जिम्मेवारी स्थानीय सरकारको पनि हुन्छ । अहिले गाउँबाट शहरमा बसाइँ सर्ने क्रम बढिरहेको छ । धेरैजसो मानिसहरू सस्तो हुने भन्दै असुरक्षित ठाउँहरूमा जग्गा किन्छन् । यसले गर्दा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम अझ बढेको छ । कमजोर आर्थिक अवस्थाका कारण सुरक्षित ठाउँ छान्न नसक्नु अझै ठूलो समस्या बनेको छ ।
स्थानीय तहले कुन ठाउँमा बढी खतरा छ भनेर पहिचान गर्नुपर्छ । त्यस्ता जोखिमयुक्त क्षेत्रहरूको नक्शा बनाउनुपर्छ र पहिले नै सुरक्षित व्यवस्थापन गर्नुपर्छ ।
जोखिम बढी भएका क्षेत्रमा घर बनाउन नदिने, मध्यम जोखिम भएका ठाउँमा विशेष सावधानी अपनाएर सुरक्षित तरिकाले घर बनाउने र कम जोखिम भएका ठाउँमा मात्र घर बनाउने नीति बनाउनुपर्छ ।
कुनै विपद्बाट बच्नका लागि सबैभन्दा पहिले हामीले राज्य (सरकार) बाट दिइने जानकारी राम्रोसँग बुझ्न जरुरी छ । यदि कुनै कुरा नबुझेको भए, आफ्नै वडा कार्यालय वा पालिकामा गएर जनप्रतिनिधि, इन्जिनियर वा प्राविधिकसँग सोध्नुपर्छ ।
आफ्नो टोल–छिमेकका पाका र अनुभवी मानिसहरूसँग कुराकानी गरेर पहिलेका वर्षहरूमा के–के भयो, बाढी पहिरो वा अन्य विपद् आउँदा कसरी जोगिए भन्ने कुरा बुझ्न सकिन्छ । त्यस्ता कुराहरूलाई लेखेर राखेमा पछि सबैलाई काम लाग्न सक्छ ।
रेडियो, टेलिभिजन, मोबाइल वा अन्य सञ्चारमाध्यमहरूबाट आउने मौसमसम्बन्धी खबर ध्यान दिएर सुन्नुपर्छ । धेरै पानी पर्ने, बाढी आउन सक्नेजस्ता पूर्वसूचनाहरू सरकारले दिइरहेको हुन्छ । त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
यो वर्षको मनसुनमा समयमै तयारी नगरेमा ठूला दुर्घटना हुने सङ्केत देखिन्छ । यस्तो बेलामा मानिसको ज्यान, समुदायको सुरक्षासहित घर–जग्गा, सडक र अन्य संरचनामा पनि ठूलो क्षति हुन सक्छ ।
त्यसैले हरेक नागरिक सचेत हुन जरुरी छ । सरकारको सूचना बुझ्ने, पुराना अनुभवबाट सिक्ने, सञ्चामाध्यम सुन्ने र समयमै पूर्वतयारी गर्नुपर्छ । अनि मात्र हामी आफूसँगै परिवार, आफन्त, समुदाय र सम्पत्तिलाई सुरक्षित राख्न सक्छौँ ।

