Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

यसपालि मनसुनमा धेरै पानी पर्छ, अहिलेदेखि नै सतर्क रहौँ

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 27, 2025
in समाचार
0
यसपालि मनसुनमा धेरै पानी पर्छ, अहिलेदेखि नै सतर्क रहौँ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनमा सामान्यभन्दा धेरै पानी पर्ने अनुमान गरेको छ । पानी धेरै परेपछि शहर–गाउँ सबै ठाउँमा बाढी, पहिरो, डुबानजस्ता विपद्को सम्भावना पनि बढ्छ ।

नेपालको भूगोल हेर्दा शहरहरू पहाड, मध्य पहाडी क्षेत्र र तराईमा छन् भने गाउँहरू हिमालदेखि तराईसम्म फैलिएका छन् । त्यसैले पानी परेपछि कहाँ कस्तो समस्या आउँछ भन्ने कुरा ठाउँअनुसार फरक हुन्छ । जस्तै– पहाड र हिमाली क्षेत्रमा पहिरोको जोखिम बढी हुन्छ, तराईमा डुबान र शहरमा पनि बाढी तथा नाली जाम भएर पानी थुप्रिने समस्या आउन सक्छ । त्यसैले हामी बसेको ठाउँमा के कस्तो जोखिम हुन्छ भनेर पहिले नै बुझ्नुपर्छ । अनि त्यहीअनुसार सुरक्षाका उपाय अपनाउनुपर्छ ।

शहरमा खोलामा आउने बाढीले धेरै असर पारिरहेको छ । खोला बगेको पानीसँगै आएको ढुङ्गा, माटो र बालुवाको कारण खोलाको सतह माथि आइपुग्छ । यस्तै विकास निर्माणका क्रममा खोलाले बग्ने ठाउँ साँघुरो हुँदै गइरहेको छ ।

नयाँ संरचना बनाउँदा जमिनमा पानी सोसिने ठाउँ नै नछोडी सबै ढलान बनाइन्छ, ढुङ्गा छापिन्छ जसले गर्दा पानी जमिनभित्र जानै पाउँदैन । यही कारणले गर्दा थोरै पानी परे पनि शहरमा डुबान र बाढीको जोखिम बढिरहेको छ । यस्तो अवस्था अघिल्लो वर्षहरूमा भन्दा झन् बढेको देखिन्छ ।

मध्य पहाडका शहरहरू जस्तै– काठमाण्डौ र पोखरामा पानी परेपछि केही समयमै सडक डुब्छन्, खोलाको किनारका बस्तीहरूमा पानी पस्ने खतरा हुन्छ । खोलाबाट बगेर आउने फोहोरले ढल, नाला र कुला थुनिन्छन् जसले गर्दा पानी बग्न सक्दैन र डुबान हुन्छ ।

त्यस्तै विराटनगर, धनगढी, नेपालगञ्जजस्ता तराईका शहरहरूमा त झन् पानी थुनिने समस्या देखिन्छ । यहाँ मनसुनको बेला भारी वर्षा हुँदा डुबानको जोखिम निकै बढ्छ ।

मनसुनको बेला शहरमा बाढी, पहिरो, डुबान र जमिन कटानको समस्या ल्याउँछ । यसले घर भत्किने, संरचनामा क्षति पुग्ने र जनजीवन अस्तव्यस्त हुने अवस्था निम्तिन्छ ।

त्यसैले शहरको विकास गर्दा खोलाको बग्ने प्राकृतिक बाटो नछेक्ने, जमिनमा पानी सोसिने ठाउँ जोगाउने र ढल, नाला सफा राख्ने काममा ध्यान दिन जरुरी छ । त्यसो भएमात्र डुबान र बाढीको जोखिम घटाउन सक्छ ।

डुबानसँगै अरू जोखिम पनि जोडिएरै आउँछन् । शहरमा हुने अर्को मुख्य समस्या भनेको सडकमा पानी जम्नु पनि हो । सडकमा पानी जम्नु भनेको केवल वर्षाको कारण मात्र होइन, फोहोरको व्यवस्थापन नहुनु पनि हो ।

सडक छेउमा बनाइएका नालीहरू पानी बगाउनका लागि हो । तर जब ती नाली प्लास्टिकका टुक्रा, पानीका बोतल, झोला र अन्य फोहोरले थुनिन्छन् तब पानी बग्न पाउँदैन र सडकमै जम्छ ।

यस्तो अवस्थामा सडकमा पानी भरिन्छ जसले गर्दा बाटो चाँडै बिग्रन्छ, भत्किन्छ र खाल्डाखुल्डीले भरिन्छ । यसले गाडी दुर्घटनाको खतरासमेत बढाउँछ । बिजुली, ढल र अन्य पूर्वाधार पनि यसकै कारण प्रभावित हुन्छन् । यस्तो समस्या बारम्बार दोहोरिनु भनेको हाम्रो लापरबाहीको परिणाम हो ।

त्यसैले सडक सफा राख्नु हाम्रो जिम्मेवारी हो । जथाभाबी सडकमा प्लास्टिक वा फोहोर फाल्नु हुँदैन । घरको फोहोरलाई कुहिने र नकुहिने भनेर छुट्याएर राख्ने र पालिकाको गाडी आएपछि दिने बानी बसाल्नुपर्छ ।

जसरी हामी आफ्नो घर सफा राख्छौँ, त्यसरी नै सडक पनि सफा राख्नुपर्छ । यसले मात्र हामीलाई सुरक्षित यात्रा र स्वच्छ वातावरण दिन सक्छ । यस्तै वर्षायाम शुरू भएसँगै गाउँहरूमा पनि विभिन्न प्राकृतिक जोखिमहरू बढ्न थाल्छन् ।

नेपालका गाउँहरू हिमाल, पहाड र तराई तीनै भौगोलिक क्षेत्रहरूमा फैलिएका छन् । तर मनसुनको समयमा मुख्य रूपमा पहाड र तराईका गाउँहरू बढी जोखिममा पर्छन् । तराईका गाउँहरूमा डुबान ठूलो समस्या हुन्छ । निरन्तरको वर्षाले खेत, बारी, घरबास नै डुबाउने अवस्था आउँछ ।

उता पहाडका गाउँहरूमा भने बर्खाको समयमा पहिरो, खहरे खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड), ढुङ्गा खस्ने जस्ता खतराहरू बढी देखिन्छन् । कहिलेकाहीँ यस्तो बाढी यति एक्कासी आउँछ कि मान्छे र पशुचौपायासम्म बगाउने खतरा हुन्छ ।

कतिपय ठाउँमा खोलाले बगाएर ल्याएको दाउरा टिप्न जाने गरेको पनि देखिन्छ । यस्तो जोखिमपूर्ण काम गर्नु हुँदैन । खोलामा बगाएका काठ, दाउरा सङ्कलन गर्न जाँदा ज्यानै जोखिममा पर्न सक्छ । यस्तो समयमा सतर्क रहनु, अनावश्यक जोखिम नलिनु नै बुद्धिमानी हो ।

गाउँहरूमा मनसुनको समयमा जोगिन सक्ने मुख्य उपाय भनेको पानीलाई बस्तीमा छिर्न नदिने हो । घर वरिपरि भल निकास राम्रो बनाउनुपर्छ । वर्षाको पानी गाउँमै पस्न दिनु हुँदैन ।

यदि समयमै पानी तर्काउने व्यवस्था गरियो भने घर, टोल र पूरै गाउँ सुरक्षित रहन सक्छ । तर पछिल्लो समय गाउँघरमा यस्तो सतर्कता अपनाउने चलन घट्दै गएको देखिन्छ ।

पहिलेजस्तै मिलेर खनेको भल, मिलेर बनाएको बाटो, साझा प्रयासहरू फेरि शुरू गर्न आवश्यक छ । किनभने धेरैजसो गाउँहरूमा एक ठाउँबाट अर्को ठाउँ जान खोलै तर्नुपर्छ । यस्तो बेलामा सुरक्षा सावधानी झनै जरुरी हुन्छ ।

जोखिमबाट कसरी जोगिने ?

प्राकृतिक प्रकोपबाट जोगिनका लागि सबैभन्दा पहिले सजग हुन जरुरी हुन्छ । बाढी र पहिरोजस्ता जोखिमहरू कति पानी परेपछि आउन सक्छन् भन्ने कुरा वैज्ञानिक अध्ययनहरूले पहिल्यै देखाइसकेका छन् । यस्तो जानकारीलाई बेलाबेलामा पढ्ने, सुन्ने र बुझ्ने बानी बसाल्नुपर्छ ।

प्रकोप आउनुभन्दा पहिले केही सङ्केतहरू देखिन्छन्– जस्तै पहिरो आउनुअघि जमिन गडगडाउने आवाज आउँछ । त्यस्तै बाढी आउनुअघि खोलानालाको पानी हिलो र धमिलो हुन्छ र पानीको बहाव अचानक बढ्छ । यस्ता सङ्केतहरू देखिएमा तत्काल सुरक्षित ठाउँतिर जानुपर्छ ।

प्राकृतिक प्रकोपलाई बुझ्न वैज्ञानिक सोच राख्न जरुरी छ । प्रकोप कस्तो हुन्छ र यसले के असर गर्छ भन्ने कुरा बुझ्नु र त्यसअनुसार तयारी गर्नु महत्त्वपूर्ण हुन्छ । सरकारले समय–समयमा दिने सूचना, चेतावनी र सन्देशहरूलाई ध्यानपूर्वक सुनेर व्यवहारमा उतार्नुपर्छ ।

हाम्रो घर र समुदायको सुरक्षा हामी सबैको जिम्मेवारी हो । यदि आफ्नो घरको नजिकै खोलामा पानी बगिरहेको छ भने पानी कस्तो गतिमा बग्दैछ, त्यसमा ढुङ्गा, बालुवा, काठ आदि थुप्रिएर पानीको बहाव रोकिएको त छैन भनेर सचेत हुनुपर्छ ।

यस्ता वस्तुहरूले खोलाको बहाव अवरुद्ध पारेर बाढीको खतरा बढाउन सक्छ । यसैले आफ्नो घर वरिपरि सुरक्षित राख्ने, खोलालाई बन्द गर्ने कुनै बाधा नपुर्‍याउने कुरामा विशेष ध्यान दिनुपर्छ ।

जोखिम कम गर्ने मुख्य जिम्मेवारी स्थानीय सरकारको पनि हुन्छ । अहिले गाउँबाट शहरमा बसाइँ सर्ने क्रम बढिरहेको छ । धेरैजसो मानिसहरू सस्तो हुने भन्दै असुरक्षित ठाउँहरूमा जग्गा किन्छन् । यसले गर्दा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम अझ बढेको छ । कमजोर आर्थिक अवस्थाका कारण सुरक्षित ठाउँ छान्न नसक्नु अझै ठूलो समस्या बनेको छ ।

स्थानीय तहले कुन ठाउँमा बढी खतरा छ भनेर पहिचान गर्नुपर्छ । त्यस्ता जोखिमयुक्त क्षेत्रहरूको नक्शा बनाउनुपर्छ र पहिले नै सुरक्षित व्यवस्थापन गर्नुपर्छ ।

जोखिम बढी भएका क्षेत्रमा घर बनाउन नदिने, मध्यम जोखिम भएका ठाउँमा विशेष सावधानी अपनाएर सुरक्षित तरिकाले घर बनाउने र कम जोखिम भएका ठाउँमा मात्र घर बनाउने नीति बनाउनुपर्छ ।

कुनै विपद्‍बाट बच्नका लागि सबैभन्दा पहिले हामीले राज्य (सरकार) बाट दिइने जानकारी राम्रोसँग बुझ्न जरुरी छ । यदि कुनै कुरा नबुझेको भए, आफ्नै वडा कार्यालय वा पालिकामा गएर जनप्रतिनिधि, इन्जिनियर वा प्राविधिकसँग सोध्नुपर्छ ।

आफ्नो टोल–छिमेकका पाका र अनुभवी मानिसहरूसँग कुराकानी गरेर पहिलेका वर्षहरूमा के–के भयो, बाढी पहिरो वा अन्य विपद् आउँदा कसरी जोगिए भन्ने कुरा बुझ्न सकिन्छ । त्यस्ता कुराहरूलाई लेखेर राखेमा पछि सबैलाई काम लाग्न सक्छ ।

रेडियो, टेलिभिजन, मोबाइल वा अन्य सञ्चारमाध्यमहरूबाट आउने मौसमसम्बन्धी खबर ध्यान दिएर सुन्नुपर्छ । धेरै पानी पर्ने, बाढी आउन सक्नेजस्ता पूर्वसूचनाहरू सरकारले दिइरहेको हुन्छ । त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

यो वर्षको मनसुनमा समयमै तयारी नगरेमा ठूला दुर्घटना हुने सङ्केत देखिन्छ । यस्तो बेलामा मानिसको ज्यान, समुदायको सुरक्षासहित घर–जग्गा, सडक र अन्य संरचनामा पनि ठूलो क्षति हुन सक्छ ।

त्यसैले हरेक नागरिक सचेत हुन जरुरी छ । सरकारको सूचना बुझ्ने, पुराना अनुभवबाट सिक्ने, सञ्चामाध्यम सुन्ने र समयमै पूर्वतयारी गर्नुपर्छ । अनि मात्र हामी आफूसँगै परिवार, आफन्त, समुदाय र सम्पत्तिलाई सुरक्षित राख्न सक्छौँ ।

 

Previous Post

प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित

Next Post

जेठ १९ देखि देशभर यातायात सेवा बन्द गर्ने व्यवसायीको चेतावनी

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
जेठ १९ देखि देशभर यातायात सेवा बन्द गर्ने व्यवसायीको चेतावनी

जेठ १९ देखि देशभर यातायात सेवा बन्द गर्ने व्यवसायीको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l