वीरगंज – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे राजीनामा माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि दिउँसाे साढे २ बजेसम्मका लागि स्थगित भएकाे संसद् बैठक अझै शुरू हुन सकेकाे छैन ।
आजकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरेका हुन् । उनीहरूले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म र गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी माओवादीका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताउनुभएको थियो ।
सांसद पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गर्नुभयो ।
यस्तै सांसद खनालले विगतमा अहिलेका गृहमन्त्रीले नै प्रतिवादन गरेको नैतिकताको मापदण्ड अहिले पनि लागू हुनुपर्ने बताउनुभयो ।
आज बिहान ११ बजे बस्नुपर्ने बैठक केही ढिलो गरेर शुरू भएको थियो । बैठक शुरू हुनेबित्तिकै विपक्षी सांसदहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले शुरूमा आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि फेरि सूचना टाँस गरेर दिउँसाे साढे २ बजेसम्मका लागि स्थगित भएको बैठक अझै शुरू हुन नसकेको हाे ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई मुछेको भन्दै संसद्मा त्यसकाे जवाफ दिने तयारी गर्नुभएको छ । मन्त्री लेखकले विशेष समय लिएर त्यसबारेमा प्रष्ट पार्ने जनाइएको छ । तर विपक्षी दलहरूले भने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद् बैठक अगाडि बढ्न दिएका छैनन् ।
यसैबीच आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची थियो । यसअघि आज बिहान अर्थमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराउनुभएको थियो । संवैधानिक व्यवस्थानुसार सरकारले यही जेठ १५ गते पर्सि बजेट ल्याउँदै छ ।

