१३ जेठ,जनकपुर । गणतन्त्र दिवस २०८२ को अवसरमा मधेश प्रदेश सरकारले प्रेस स्वतन्त्रता सेनानी हरूलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको छ। पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका अग्रज र संघर्षशील व्यक्तित्वहरूको योगदानको कदर गर्न यो पहल गरिएको हो।
गृह, सञ्चार तथा कानून मन्त्रालयले यस सम्बन्धमा नेपाल पत्रकार महासंघका सबै जिल्ला शाखाहरूलाई पत्र पठाउँदै योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ। पत्रमा गणतन्त्रको मूल मर्म र भावना अनुरूप पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिने उल्लेख गरिएको छ।
सर्लाही, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट लगायत मधेश प्रदेशका जिल्लाहरूमा संघीयता र प्रेस स्वतन्त्रताको रक्षामा अग्रसर व्यक्तिहरूको नाम संकलन प्रक्रिया सुरु भइसकेको छ।
सहभागिता र सिफारिसको लागि आग्रह
मन्त्रालयले नेपाल पत्रकार महासंघहरूसँग सहकार्य गर्दै कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ। साथै, सबै जिल्लाबाट पत्रकार, सम्पादक, प्रकाशक वा स्वतन्त्र प्रेसको पक्षमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरूको नाम सिफारिस गर्न पनि भनिएको छ।
मधेश प्रदेश सरकारले सञ्चालन गर्न लागेको यो सम्मान कार्यक्रमले प्रेस स्वतन्त्रताको रक्षा तथा गणतन्त्र स्थापनामा समर्पित पत्रकारहरूको संघर्ष र योगदानलाई राज्यस्तरमा चिनाउने विश्वास गरिएको छ।


