१३ जेठ,वीरगञ्ज । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले बाराको कोलवीमा पत्रकारहरूका लागि साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन सत्र मधेश प्रदेश सभा सदस्य जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोनलले अहिले साइबर सुरक्षा देशमा मात्र नभई विश्वमै अवसरसँगै चुनौती लिएर आएको बताउँदै विज्ञान तथा प्रविधिको यस युगमा योसँग अभ्यस्त हुन आवश्यक रहेकोमा जोड दिए। उनले नेपाल पत्रकार महासंघ बारा शाखाको भवन निर्माणका लागि प्रदेश सरकारको मन्त्रालयबाट बजेट विनियोजन गर्न पहल गर्ने र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, महासंघ मधेश प्रदेशका सदस्य साजिर मन्सुर, महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, पत्रकार सत्यप्रकाश श्रेष्ठ, गोकुल घोरासैनी लगायत करिब ५० जना पत्रकारहरूको उपस्थिति थियो।
महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले जिल्लामा महासंघको कार्यालय भवन निर्माणका लागि सहयोगको अपिल गरे। अध्यक्ष खड्गाले संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेकोप्रति सचेत गराउँदै संघीयता जति बलियो हुन्छ, मधेश त्यति नै बलियो हुने बताए। उनले प्रदेश बलियो भएमा प्राधिकरण पनि बलियो हुने र त्यसबाट पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम, लोककल्याणकारी विज्ञापन, स्वास्थ्य एवम् दुर्घटना बीमा जस्ता सेवाहरूलाई अगाडि बढाउन सकिने स्पष्ट पारे। खड्गाले पत्रकारहरू राष्ट्रको चौथो अंग भएकोले आत्मसमीक्षा गर्न जरुरी रहेको बताउँदै प्रेस स्वतन्त्रताको नाममा पत्रकारिताको दायराबाट बाहिर जान नमिल्नेमा जोड दिए।
उद्घाटन सत्रपछि सुरु भएका प्रशिक्षण सत्रहरूमा साइबर सुरक्षाका नवीनतम चुनौतीहरू र पत्रकारितामा ए.आई. (कृत्रिम बौद्धिकता) को प्रयोग बारे गहन छलफल गरिएको थियो। यस प्रशिक्षणले पत्रकारहरूलाई डिजिटल युगमा सुरक्षित रहँदै आधुनिक प्रविधिको सदुपयोग गर्ने ज्ञान र सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।

