विरगंज १२- मिथिलाञ्चलमा वटसावित्री अर्थात् वरसाइत पर्व मनाइएको छ । विवाहित महिलाहरूले मनाउने यो पर्वका कारण वर भएको ठाउँमा बिहानैदेखि भीड लागेको थियो ।
पर्वमा महिलाहरू नयाँ सारी, ब्लाउज, लहठी, शृङ्गारका समानका साथै पूजाको सामग्री किन्ने गर्दछन् । नवविवाहित महिलाहरूका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका साथै पाहुरसमेत आउने गर्दछ ।
वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वका रूपमा लिइने गरिन्छ । मिथिला संस्कृतिमा यो पर्व आदर्श नारित्वको प्रतीक बनेको छ । यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ ।
हिन्दू धर्ममा पीपलको बोट जस्तै वरको बोटको पनि उत्तिकै महत्त्व रहेको छ । वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ । दार्शनिक दृष्टिबाट वरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकका रूपमा स्वीकार गरिएको छ ।

