रोकथाम तथा नियन्त्रण गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपालसहित विश्वभर हरेक वर्ष हजारौँ मानिसले ज्यान गुमाइरहेका छन् ।
रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा रेबिज अझै पनि ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा नेपालमा २ लाख २३ हजारभन्दा बढी जनावरको टोकाइका घटना दर्ता भएका छन्। तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन्। नेपालमा हरेक वर्ष करिब १०० जनाको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान गरिएको छ भने कुल जनसङ्ख्याको करिब आधा हिस्सा रेबिजको उच्च जोखिममा रहेको जनाइएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनले कुकुर वा अन्य जनावरले टोकेमा तत्काल प्राथमिक उपचार गरी स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ।
उहाँका अनुसार जनावरले टोकेपछि घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ। त्यसपछि ढिलाइ नगरी नजिकैको स्वास्थ्य संस्थामा गई चिकित्सकीय परामर्शअनुसार रेबिजविरुद्धको खोप लगाउनुपर्ने उहाँले बताउनुभयो।
“कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज सङ्क्रमित जनावरले टोकेमा वा चिथोरेमा घटनालाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्नु हुँदैन,” निर्देशक डा. भट्टचनले भन्नुभयो, “घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनुहुँदैन।”
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजका कारण हुने मानव मृत्यु शून्यमा पुर्याउने लक्ष्य लिएको छ। यसका लागि देशभरका २८६ केन्द्रबाट निःशुल्क रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घरपालुवा कुकुरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउन तथा सामुदायिक स्तरमा रेबिज नियन्त्रणका लागि सहकार्य र जनचेतना अभिवृद्धि गर्न आग्रह गरेको छ।
हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ। विश्व स्वास्थ्यसम्बन्धी तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ। त्यसमध्ये करिब ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसियामा र ३२.५ प्रतिशत अफ्रिकी देशमा हुने गरेको जनाइएको छ। रेबिजका कारण मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन्।
मानवमा हुने रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित रहेको बताइन्छ। त्यसैले कुकुरको टोकाइबाट हुने रेबिज नियन्त्रणका लागि कुकुरलाई नियमित खोप लगाउने, जनावरको टोकाइपछि तत्काल उपचारमा जाने र समुदायस्तरमा जनचेतना बढाउने कार्यलाई प्राथमिकता दिनुपर्ने स्वास्थ्य क्षेत्रका अधिकारीहरूले बताएका छन्।
विश्व रेबिज दिवस रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वय सुदृढ गर्दै रेबिज निवारणतर्फको प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा मनाइन्छ। यो दिन रेबिजविरुद्धको पहिलो सफल खोप विकासमा महत्वपूर्ण योगदान पुर्याएका लुई पास्चरको स्मृति दिवससमेत हो।
यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ।

