गृहमन्त्री सुधन गुरुले अस्वच्छ तथा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन र बिक्री वितरण गरी नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेमाथि कडा कारबाही गरिने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गुरुले जनस्वास्थ्यका सवालमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारे । उनले नागरिकको स्वास्थ्य र जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व रहेको उल्लेख गरे ।मन्त्री गुरुले दूषित वा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण भइरहेको जानकारी पाएमा तत्काल सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
उनले जनस्वास्थ्य संरक्षणसम्बन्धी सरकारी निर्देशनको कडाइका साथ कार्यान्वयन गर्न देशभरका सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन्।
देशभर सञ्चालित होटल तथा रेस्टुरेन्टमा खाद्य पदार्थको गुणस्तर र सरसफाइबारे प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले सोमबार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको थियो । यससँगै मन्त्रालयले आम नागरिकका गुनासा सहज रूपमा दर्ता गर्न सबै जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले नागरिकबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिँदै सामान्य प्रकृतिका समस्याका लागि समेत सेवाग्राहीले केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न जोड दिएको छ ।

