लालबाबु सिंह २ असार बिरगंज । बिरगंजको मेनरोड आदरशनगर चौकमा प्रत्येक शनिबार मानव सेवाको पवित्र भावनासहित सञ्चालन हुँदै आएको सद्भाव साप्ताहिक भोजन सेवा आज पनि सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ। आजको भोजन एक चिसो सर्बत सेवा कार्यक्रम वर्ष कै ज्येष्ठ मंगलबार ( बड मंगलबार) को अवसरमा बिरगंज ६ मेनरोड स्थित महावीर मन्दिर परिसरमा सम्पन्न गरिएको हो।
कार्यक्रमका संयोजक रमेशजीका अनुसार सद्भाव सेवा लगातार ३८६ हप्तादेखि अविरल रूपमा सञ्चालन हुँदै आएको छ, जुन आफैंमा एउटा अनुकरणीय सामाजिक अभियान हो र आजको जस्तै विभिन्न चाडपर्व लगायत विशेष अवसरमा अन्य दिन पनि आयोजना गर्ने गरिन्छ बताउदै आजको भोजन सेवामा करिब ४०० जनालाई स्वादिष्ट भोजन गराइएको थियो भने झण्डै १ हजार जनालाई चिसो शर्बत पानी वितरण गरिएको थियो।
भोजनमा भात, दाल, पनिर, परवर, आलु, लौका, सोयाबिन मिसाइएको मिक्स तरकारी तथा सलाद परोसिएको थियो। भोजन तथा चिसो शर्बत पानीको व्यवस्थाले उपस्थित श्रद्धालु र सर्वसाधारणलाई निकै खुसी बनाएको देखिन्थ्यो।
कार्यक्रममा सहयोगी दाता, स्थानीय समाजसेवी महिला, युवा स्वयंसेवक तथा सामाजिक अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सडकमा आवतजावत गर्ने यात्रु, पर्यटक, मोटरसाइकल चालक, ई–रिक्सा चालक, रिक्सा चालक, साइकल चालक तथा महावीर मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुहरूलाई सम्मानपूर्वक आमन्त्रण गरी भोजन तथा चिसो शर्बत पानी ग्रहण गराएका थिए।
सहभागीहरूले मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको बताउँदै यस्ता कार्यक्रमले समाजमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले लगातार ३८६ हप्तासम्म भोजन सेवा सञ्चालन गर्नु ठूलो सामाजिक योगदान भएको उल्लेख गर्दै यसले आवश्यकतामा परेका व्यक्तिहरूका लागि आशा र सहाराको काम गरिरहेको बताए।

