लालबाबु सिंह ७ जेष्ठ बिरगंज । मित्रराष्ट्र भारत को सिमावर्ती शहर रक्सौल स्थित प्राचीन सूर्य मन्दिर परिसरको पवित्र पोखरीबाट करिब ११ किलो तौलको विशाल कछुवा फेला परेपछि क्षेत्रमा व्यापक चर्चा तथा कौतुहलता बढेको छ। सूर्य मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरणका लागि पोखरी सफाइ गर्ने क्रममा उक्त विशाल कछुवा देखिएपछि श्रद्धालु तथा स्थानीयवासीको भीड लागेको सुर्य मन्दिर समितीका मिडिया प्रवक्ता एवं समाजसेवी रजनिश प्रीयदर्शीले बताएका छन ।
धेरै श्रद्धालुले आज बिहिबारको दिन यसलाई भगवान विष्णुको कूर्म अवतारसँग जोड्दै शुभ संकेतका रूपमा लिएका छन्। धार्मिक मान्यता अनुसार कछुवा धैर्यता, समृद्धि, स्थिरता तथा सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ।
सूर्य मन्दिर समितिका सचिव शम्भु प्रसाद चौरसिया, कोषाध्यक्ष गणेश अग्रवाललगायत समितिका सदस्यहरूले आस्थाको केन्द्रमा यति ठूलो कछुवा भेटिनु प्रकृति र धार्मिक चेतनाको अद्भुत संगम भएको बताएका छन्।
पर्यावरणविद्हरूका अनुसार कछुवाले जलस्रोत संरक्षण तथा जैविक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। समितिले तालाबमा पूजा सामग्री तथा फोहोर नफाल्न सर्वसाधारणसँग आग्रह गरेको छ।
सुर्य मन्दिर समितीका मिडिया प्रवक्ता एवं समाजसेवी प्रियदर्शीका अनुसार विशाल कछुवाको उपस्थितिले प्रकृति सुरक्षित रहेसम्म आस्था र जीवनको सन्तुलन कायम रहने सन्देश दिएको छ।
