सिरहा । वैशाख १ गते नयाँ वर्षको अवसरमा सिरहाको लहान नगरपालिका–१२ र २२ को सीमानामा रहेको ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा यस वर्ष पनि भव्य मेला लागेको छ।
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने यस विशेष दिनलाई मेष संक्रान्ति पनि भनिन्छ, जसलाई नेपालमा नयाँ वर्षको रूपमा हर्षोल्लासका साथ मनाइन्छ।
फूलबारीमा वर्षमा एक पटक मात्र फुल्ने मानिएको ‘सुनाखरी’ (हारम) फूल यस वर्ष पनि प्रमुख आकर्षण बनेको छ। जडीबुटी र आस्थाको केन्द्रका रूपमा परिचित यस स्थलमा उक्त फूल हेर्न तथा पूजा गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ दर्शनार्थीहरूको भीड लागेको छ।
स्थानीय किंवदंतीअनुसार राजा सलहेश र उनकी प्रेमिका मालिनको प्रेमको प्रतीकका रूपमा यो फूल हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास रहँदै आएको छ।
मेलाले धार्मिक आस्था मात्र होइन, स्थानीय पर्यटन र सांस्कृतिक पहिचानलाई समेत प्रवर्द्धन गरेको स्थानीय निकायहरूले बताएका छन्। फूलबारी क्षेत्रभित्र रहेका जडीबुटी तथा धार्मिक सम्पदाको संरक्षणका लागि समेत विशेष पहल भइरहेको छ।

