गण्डक नहरस्थित तिलाबे खोलामा निर्माणाधीन बेलीब्रिज (फलामे पुल) जडान कार्य अत्यन्त सुस्त गतिमा अघि बढिरहेको छ ।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण हालसम्म निर्माण कार्यको भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्ज अन्तर्गत निर्माण भइरहेको उक्त बेलीब्रिजको ठेक्का ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालि, लोकन्थली भक्तपुरले लिएको हो ।
कार्यालयका अनुसार परियोजनाको कुल लागत करिब २ करोड ४६ लाख ६० हजार ८ सय १२ रुपैयाँ रहेको छ । सम्झौता अनुसार पुल निर्माण कार्य २०२५ डिसेम्बर १५ देखि सुरु भई २०२६ मे १५ भित्र सम्पन्न गरिसक्नुपर्नेछ । तर हालको सुस्त गतिलाई हेर्दा तोकिएको समयमै निर्माण सम्पन्न हुनेमा अन्योल देखिएको छ।
तीन वर्षअघि असारमा आएको बाढीले सोही स्थानमा रहेको आरसीसी पुलमा क्षति पुर्याएपछि सवारी साधन आवागमन प्रभावित भएको थियो । पुलको पिलरमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको छ । यद्यपि पैदलयात्री, साइकल तथा मोटरसाइकल प्रयोगकर्ताहरूले अझै पनि जोखिम मोलेर पुल प्रयोग गर्दै आएका छन् ।
जिल्ला सदरमुकाम वीरगन्जलाई उत्तरी–पश्चिमी भेगसँग जोड्ने गण्डक नहरको एप्रोच सडकमा पर्ने यो पुल जिल्लाका करिब ४० प्रतिशत बासिन्दाको मुख्य आवागमन मार्ग हो । पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले दैनिक सास्ती भोग्दै आएका छन् ।
स्थानीयका अनुसार पुलमा थप क्षति पुगेमा गण्डक नहरको साइफनमा समेत असर पर्न सक्ने र नहर प्रणाली अवरुद्ध हुने जोखिम बढ्दै गएको छ ।

