काठमाडौं — सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण भोलिदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय का मन्त्री सस्मित पोखरेलका अनुसार कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम गरिएको छ।
बैठकले एशियाली विकास बैंक बाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंक बाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण ‘डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्ट’का लागि स्वीकार गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद्ले नेपाल सरकार अन्तर्गतका सबै मन्त्रालय, सचिवालय, आयोग तथा निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।
यसैगरी, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
शिक्षा क्षेत्रतर्फ, आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

